काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग पुनः उठाइएको छ। साथै सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन, शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।
बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका प्रमुख सचेतक वासना थापालाई बोल्न समय दिएका थिए।
प्रमुख सचेतक थापाले प्रधानमन्त्रीले यसअघि संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे अझै स्पष्टता नआएको भन्दै त्यसविरुद्धको विरोधलाई निरन्तरता दिनुपरेको बताए। उनले सुनसरीको कप्तानगञ्ज घटनामा मृत्यु भएका ओमप्रकाश मेहताको घटनाको निष्पक्ष अनुसन्धान गर्न र नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरे।
नेकपा (एमाले) की सांसद पद्माकुमारी अर्यालले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन आग्रह गर्दै सुकुम्बासी समस्या समाधान, रासायनिक मलको सहज आपूर्ति तथा भारतमा पक्राउ परेका नेपाली नागरिकको सुरक्षित स्वदेश फिर्ताका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराइन्।
उनले सुनसरीमा भएको घटनाका क्रममा दङ्गा नियन्त्रणमा राज्य प्रभावकारी हुन नसकेको आरोप लगाउँदै संयमता अपनाउन र घटनाको जिम्मेवारी लिएर आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरिन्। साथै वर्षायाममा हुन सक्ने प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पनि सरकारलाई आवश्यक तयारी गर्न सुझाव दिइन्।
नेपाल कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले पनि सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिबारे पटक–पटक उठाइएको माग सम्बोधन नभएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले सुनसरी घटनाप्रति राज्य पर्याप्त संवेदनशील नदेखिएको टिप्पणी गरे।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले सुनसरी घटनाको दीर्घकालीन समाधान राजनीतिक संवादमार्फत खोज्नुपर्नेमा जोड दिँदै सरकारलाई थप सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिन्। उनले सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा पनि राखिन्।
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइनुपर्ने माग अझै सम्बोधन नभएको उल्लेख गर्दै सुनसरीलगायत क्षेत्रमा देखिएको तनाव समाधानका लागि सरकारले नै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले यस्ता समस्याको समाधान बल प्रयोगभन्दा संवाद र सहमतिबाट खोजिनुपर्ने धारणा व्यक्त गरे।













