काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री सुधन गुरुङलाई उपसभापति बनाउने तयारी गरेको छ । यसअघि वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह समूहबाट अन्य नेताको नाम चर्चामा थियो ।
आज मंगलबार एकाएक गुरुङको नाम उपसभापतिमा प्रस्तावित भएको रास्वपा स्रोतले जानकारी दिएको छ । एक उपसभापतिमा गृहमन्त्री रहेका गुरुङको सम्भावना बलियो रहेको बुझिएको छ ।
यस पदका लागि बालेनका विश्वासपात्र रहेका सुनिल लम्सालको पनि दाबी छ । भौतिक पूर्वाधार मन्त्री रहेका लम्सालभन्दा गुरुङलाई उपसभापति बनाउन सभापति रवि लामिछान सकारात्मक रहेको स्रोतको दाबी छ ।
पार्टीको पदाधिकारीमा समावेशिता नदेखिएको भन्दै वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहले नै प्रस्ताव गरेपछि सभापति लामिछानले सहमति जनाएको स्रोतले जानकारी दिएको छ । सभापति लामिछाने र वरिष्ठ नेता शाहबीच संवाद भएपछि गुरुङ सभापति भेट्न बूढानीलकण्ठ पुगेका थिए ।
पार्टी पंक्तिमा धेरैले सुधनलाई उपसभापति बनाउनुपर्ने सुझाव आएका छन् । उनलाई उपसभापति बनाउँदा पदाधिकारी समावेशी पनि हुने साथै रवि र बालेनलाई एक ठाउँमा ल्याउन उनले नै रसायनको काम गरेकाले सुधन उपसभापति बन्ने सम्भावना बलियो भएको हो ।
महाधिवेशन भएको एक महिनापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाँकी केन्द्रीय सदस्य र पदाधिकारी मनोनीत गर्ने तयारी गरेको छ । भोलि बुधबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय समितिको दोस्रो बैठकले केन्द्रीय सदस्य र पदाधिकारी मनोनीत गर्ने तयारी गरेको हो ।













