१२ श्रावण २०८३, मंगलबार

कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाहीको दाबी पेस


मंगलबहादुर शाही

सुर्खेत । कर्णाली प्रदेश सरकार गठनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले मुख्यमन्त्री पदमा दाबी पेस गरेका छन् । आज मंगलबार नेता शाहीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष दाबी पेश गरेका हुन् ।

शाहीले नेकपा (एमाले)को समर्थनमा दाबी पेश गरेका छन् । शाहीले नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलको समर्थनमा प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

एमाले र नेकपाबीच भएको सहमतिमा कर्णाली सरकारको नेतृत्व नेकपाले गर्ने सहमतिअनुसार, नेकपा संसदीय दलका नेताले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।

दाबीसँगै प्रदेशसभाका २४ जना सांसदको हस्ताक्षर पनि बुझाइएको छ । यसअघि कांग्रेसको समर्थनमा एमालेका यामलाल कँडेल मुख्यमन्त्री बनेका थिए। कांग्रेसले समर्थन फिर्ता लिएपछि उनले राजीनामा दिइसकेका छन्।

नेपालको संविधानको धारा १६८(२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त भएपछि शाहीले सरकार गठनको दाबी प्रस्तुत गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !