१२ श्रावण २०८३, मंगलबार

स्वास्थ्य सेवा अवरोध नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह


स्वास्थ्य सेवा अवरोध नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य सेवाजस्तो संवेदनशील सेवामा कुनै पनि प्रकारको अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आज आकस्मिकबाहेकका सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि उक्त मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सो आग्रह गर्नुभएको हो ।

उहाँले आज प्रकाशन गर्नुभएको विज्ञप्तिमा भन्नुभएको छ “स्वास्थ्य सेवाको संवेदनशीलता, चिकित्सक पेसाको गरिमा तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै नागरिकको उपचार सेवामा कुनै अवरोध नआउने वातावरण कायम गरी निर्वाध रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न सबै अस्पतालहरूलाई मन्त्रालय अपिल गर्दछ ।”

सहप्रवक्ता अधिकारीले स्वास्थ्य सेवा अत्यन्त संवेदनशील, जीवनरक्षक र अत्यावश्यक सेवा हो भन्दै नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारको संरक्षण गर्नु तथा स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानजनक वातावरणमा सेवा प्रदान गर्न पाउनु स्वास्थयकर्मीको अधिकार र सबै नागरिकको साझा दायित्व रहेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

 विज्ञप्तिमा उक्त मन्त्रालयको चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट तथा दुव्र्यवहारका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको र दोषीलाई कानुनी दायरामा ल्याइने पनि बताइएको छ ।

 गत शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वाथ्यकर्मीहरू र अस्पतालमा आक्रमण भएको भन्दै सुरक्षाको माग गर्दै सङ्घले बन्दको आह्वान गरेको हो । 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !