काठमाडौं । काठमाडौँ र धादिङलाई जोड्ने गरी नवनिर्मित नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको उद्घाटन गरिएको छ । २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको देशको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग सोमबार उद्घाटन गरिएको हो ।
नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले सुरुङमार्गको उद्घाटन गरेका हुन् ।
पहिलो चणमा आपत्कालीन प्रयोजनमा प्रयोग हुने सवारीले सुरुङ प्रयोग गर्न पाउँछन् । त्यसपछि चरणबद्ध रूपमा अन्य निजी र सार्वजनिक सवारीले सुरुङ मार्गको प्रयोग गरेर काठमाडौं आउजाउ गर्न पाउने छन् ।
विसं. २०७६ कात्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए । प्रारम्भिक सम्झौताअनुसार यसको निर्माण ४२ महिनामा सकिनुपर्ने थियो । कोभिड–१९, मुआब्जा विवादलगायत कारणले निर्माणमा ढिलाइ भयो ।
मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर छ । यसबाहेक २.५५७ किलोमिटरको आपतकालीन सुरुङ छ । पैदलयात्री, दुई पाङग्रे सवारी, डिजेल, पेट्रोलसहित प्रज्वलनशील पदार्थ ढुवानी गर्ने सवारी सुरुङ मार्गभित्र चल्न पाउँदैनन् ।
सुरुङ प्रयोग निःशुल्क भने होइन । काठमाडौं भित्रिँदा र बाहिरिँदा काररभ्यानले क्रमशः ६५ र ६० रुपैयाँ तिर्नुपर्छ । मिनीबस, टिपरले भित्रिँदा ११५, बाहिरिँदा ८० रुपैयाँ, बस र ट्रकले भित्रिँदा २६०, बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसबाहेक हेभी ट्रकले भित्रिँदा ६०० र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्नेछ ।
जापान सरकारको साढे १६ अर्ब र नेपाल सरकारको ६ अर्ब लगानीमा यो सुरुङ निर्माण गर्ने गरी सम्झौता भएको थियो । तर, निर्माणको चरणमा प्रवेश गरेपछि लागत बढ्यो । यसपछि जापानले फेरि पाँच अर्ब ऋण सहायता थपिदिएको थियो । यो आयोजना निर्माणको ठेक्का जापानको हाज्मा आन्दो कर्पोरेसनले लिएको थियो ।














