काठमाडौं । सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा सोमबार बसेको बैठकले मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।
गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको हो । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ को कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको वीचमा झडप भएको घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको हो ।
आज बिहान ९ बजेदेखि बसेको बैठकमा गृह मन्त्रालयका सचिव र सुरक्षा प्रमुखहरू सहभागी थिए । समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताभित्र म्याद दिइएको छ ।
दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि अहिले स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।
छलफलमा गृहमन्त्री गुरुङसहित नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेल लगायत सहभागी थिए । सुनसरी घटनाबारे आजै साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ ।













