काठमाडौं । निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरुको संसदीय सुनवाइ आगामी १२ र १३ गते हुने भएको छ । सिंहदरबारमा आज मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले १२ गते प्रस्तावित दुई जना आयुक्तहरुको र १३ गते प्रस्तावित प्रमुख आयुक्तलाई प्रस्तुतीकरणका लागि बोलाउने निर्णय गरिएको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
बैठकमा सभापति श्रेष्ठले नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा एउटा उजुरी र एउटा सुझाव प्राप्त भएको जानकारी दिए । प्राप्त उजुरी र सुझाव समिति सदस्यहरूलाई उपलव्ध गराइने र अध्ययनपछि साउन १२ र १३ गते सुनुवाइ हुने उनले बताए ।
संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की र आयुक्त पदमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।













