फाइल फोटो
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारको नियतमा कुनै पनि शङ्का नगर्न आग्रह गरेका छन्। रौतहटका पार्टी नवप्रवेशीहरूलाई स्वागत गर्दै उनले सरकारका निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्ने र त्यसलाई सच्याउन तयार रहेको बताएका हुन् ।
खराब नियत भएमा सच्याउन गाह्रो हुने उल्लेख गर्दै उनले असल सोच राखेर काम गर्दागर्दै पनि कहिलेकाहीँ विवाद आउन सक्ने धारणा राखे। सभापति लामिछानेले कहिलेकाहीँ किसानको पक्षमा भनेर गरिएका निर्णयहरू व्यावहारिक रूपमा फिल्डमा जाँदा विपक्षमा परिणत हुन सक्ने स्वीकार गरे ।
सरकारले जसको लाभका लागि निर्णय गरेको हो, त्यसबाट हानि पुगेको खण्डमा निर्णयहरू परिवर्तन हुने उनले स्पष्ट पारे। कुनै कामले धेरै ठुलो क्षति पुर्याएमा तत्काल परिमार्जन गर्नुपर्ने भएकाले सरकारलाई अलिकति समय दिनुपर्ने उनको भनाइ छ। नेतृत्वले एउटा निश्चित उद्देश्य र दृष्टिकोण राखेर योजना ल्याउने हुनाले कार्यान्वयनका केही चुनौतीकै कारण ती योजना खराब वा खतम नहुने उनले दाबी गरे।
नयाँ नेताहरूलाई स्वागत गर्दै लामिछानेले भने- ‘तपाईंलाई म के विश्वास गर्न चाहन्छु भने सरकारको नियतमा कुनै पनि शङ्का छैन, निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ र त्यसलाई करेक्सन गर्न चाहिन्छ ।’ कार्यान्वयनका क्रममा आउने चुनौतीले बाहिर भ्रम सिर्जना हुने तर्फ उनले सचेत गराए ।













