काठमाडौँ । मिटरब्याज पीडितहरू सरकारसँग वार्ता गर्न काठमाडौँ आउन लागेका छन् । आज बिहीबार बेलुकका उनीहरु सिमरा हुँदै विमान चढेर काठमाडाैँ आउन लागेका हुन् ।
गृहमन्त्री गुरुङले पीडितका तर्फबाट वार्ता टोलीमा रहेका सदस्यहरूलाई सिमराबाट काठमाडौँका लागि विमान चढाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । पीडितहरूले अवधेश कुश्वाहाको संयोजकत्वमा वार्ता समिति गठन गरेका थिए । कुशहवासहित मनोज कुमार पासमान, रिजन राना मगर, लक्ष्मी घिमिरे,किरण परियार काठमाडौँ आउन लागेका हुन् ।
सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकमार्फत अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकको माग सम्बोधन गर्नका लागि वार्ता टोली गठन गरेको थियो ।
सरकारी वार्ता टोलीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा गठित उक्त टोलीमा अर्थ, गृह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेका छन् ।













