काठमाडौं । सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूले अन्तरिम आदेश उल्लंघन गरी अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन परेको छ । सर्वोच्चको संयुक्त इजलासले काम रोक्न दिएको अन्तरिम आदेशविपरीत सम्पत्ति छानबिन आयोगले सूचना निकालेको जिकिरसहित अवहेलना मुद्दा दर्ता गराइएको छ ।
सम्पत्ति छानबिन आयोगका अध्यक्ष र सदस्यमाथि कारबाहीको माग गर्दै आज मंगलबार अधिवक्ता डा. प्रेमराज सिलवालले मुद्दा दायर गरेका हुन् । सिलवालले सम्पत्ति छानबिन रोक्न माग राखेर यसअघि दिएको रिटमा अन्तरिम आदेश भएको थियो ।
आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारी तथा सदस्यहरू पुरुषोत्तम पराजुली, चण्डीराज ढकाल, गणेश केसी र प्रकाश लम्साललाई अवहेलना मुद्दामा विपक्षी बनाइएको छ । सर्वोच्चले यसमाथि सुनुवाइ गर्न बिहीबार गतेका निम्ति पेसी तोकेको छ ।
यही असार २६ गते सर्वोच्चका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको थियो । आयोगले सोमबार (असार २९) सम्पत्ति छानबिन अघि बढाउन सूचना जारी गर्दै आदेशको गलत र भ्रमपूर्ण व्याख्या गरेको जिकिर अधिवक्ता डा. सिलवालको छ । आयोग पदाधिकारीलाई कारबाहीको माग गरिएको छ ।













