काठमाडौं । सर्लाहीमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारकै क्रममा निधन भएको छ । सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेका मण्डलको उपचारकै क्रममा बिहान २:०५ बजे कीर्तिपुरको बर्न अस्पतालमा निधन भएको हो ।
सर्लाहीकै सांसद अमेरश कुमार सिंहले पनि मण्डलको निधनबारे सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् । उनले उपचारमा कुनै कसर बाँकी नराखे पनि मण्डलको निधन भएको बताएका छन् ।
उनको आज बिहान २:०५ बजे निधन भएको कीर्तिपुर बर्न अस्पतालका मेडिकल डाइरेक्टर किरण नकर्मीले जानकारी दिए । मण्डलको शरीरको ८५ प्रतिशत भाग जलेको थियो ।
३५ वर्षीय विवेकले शुक्रबार आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । उनी घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका थिए ।
बिहीबार मात्रै त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले पनि आत्मदाह प्रयास गरेका थिए । उनलाई शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा मृत घोषणा गरिएको थियो । शनिबार काठमाडौंको बुद्धनगरमा पनि आश्विन राउतले आत्मदाह गरेका थिए । उनको पनि उपचारको क्रममा मृत्यु भइसकेको छ ।













