धनगढी । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नाम लिएर ‘बालेनको पुलिस होइन’ भनेका प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रसन्नराज चौधरी सोधपुछका लागि जिल्ला तानिएका छन् । कैलालीमा सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण इलाका प्रहरी कार्यालय सुखडका डीएसपी चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीले घोडाघोडी नगरपालिका–५, दरखमा आयोजित लागुऔषधविरुद्धको सचेतनामूलक कार्यक्रममा डीएसपी चौधरीले व्यक्त गरेको भनाइबारे जानकारी लिन र आवश्यक सोधपुछ गर्न उनलाई जिल्ला बोलाइएको जनाएको हो।
कैलालीका प्रमुख जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक एसपी) नरेन्द्र चन्दका अनुसार डीएसपी चौधरीलाई अन्य विषयमा काउन्सिलिङका लागि जिल्ला बोलाइएको थियो। सोही क्रममा उक्त भिडियो सार्वजनिक भएपछि भिडियोमा दिएको अभिव्यक्तिबारे पनि सोधपुछ गरिने उनले बताए।
चौधरीलाई सोधपुछका लागि जिल्ला बोलाइएको हो । ‘हामी बालेनको पुलिस पनि होइनौं, नेपाल पुलिस हो । अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो’, चौधरीले कार्यक्रममा भनेका थिए, ‘केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो । त्यसकारण हामी नेपाल पुलिस हो ।’
उनले उक्त कार्यक्रममा बोलेको भिडियोमा सार्वजनिक नगर्न पनि अनुरोध गरेको सुनिन्छ । तर, डीएसपीको आग्रहविपरीत उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनी छानबिनको दायरामा परेका हुन् ।













