काठमाडौँ । ट्राफिक प्रहरीले गृहमन्त्री र गृह मन्त्रालयका सचिव चढ्ने गाडीको कालो सिसा हटाएको छ । गृहमन्त्री सुधन गुरुङ र सचिव राजकुमार श्रेष्ठ चढ्ने सरकारी गाडीको सिसामा जडान गरिएको कालो स्टिकर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले हटाएको हो ।
कालो सिसाको स्टिकर हटाउन डीएसपी सुनिलजंग शाह सिंहदरबार पुगेका हुन् । ट्राफिक प्रहरीलाई बोलाएर कालो सिसा हटाउन लगाइएको हो । ट्राफिक प्रहरीले गाडीमा जडान गरिएको कालो सिसाका स्टिकर आइतबारदेखि हटाइरहेको हो ।
उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउने अभियान नै सुरु गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालय स्रोतले बताएको छ ।
गृहमन्त्री गुरुङले सोमबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर आफ्नो गाडीको सिसा पनि हटाउन भनेका थिए । उनले कालो सिसा हटाउने अभियानलाई तीव्रता दिन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् ।













