काठमाडौं । विशेष अदालतले पासपोर्ट भ्रष्टाचार अभियोगमा मुछिएका ५ जना आरोपितहरूलाई धरौटीमा छाड्न आदेश गरेको छ । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनीहरूसँग ३ देखि पाँच लाख धरौटी माग गरेको हो ।
ई-पासपोर्ट छपाई अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिलकुमार केसीसहित पाँच जनलाई आज सोमवार धराैटीमा छाड्न आदेश गरेकाे हो ।
अदालतले महानिर्देशक अर्यालसँग पाँचलाख रुपैयाँ, निर्देशक सुनिलकुमार केसीसँग ४ लाख धरौटी माग गरेको छ । त्यस्तै अरु कर्मचारीहरू सोमेश थापासँग ३ लाख, विपिन प्रसाईंसँग ३ लाख र ठेकेदारको नेपाल एजेन्ट मणिन्द्रराज मल्लसँग पाँच लाख रुपैयाँ धरौटी माग गरेको हो । त्यस्तै तुलसी प्रसाद आचार्य र राजाराम दाहाललाई साधारण तारेखमा रिहा गर्न आदेश भएको छ ।













