काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयानुकूल नीति, कार्यशैली र सङ्गठनात्मक अभ्यास परिष्कृत गर्दै कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाएर लैजानुपर्ने बताएकी छन् ।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’ मा उनले कम्युनिष्ट आन्दोलन नयाँ अवसर र चुनौतीको सङ्घारमा उभिएको धारणा राखिन् ।
कुनै एउटा निर्वाचनको परिणामका आधारमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिष्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्नु उचित नभएको उनको भनाइ छ । उनले जनसम्बन्धलाई सुदृढ गर्दै समीक्षा र आत्ममन्थन आवश्यक रहेको बताए ।
“रूपान्तरण हुँदै गरेको सामाजिक संरचना, प्रविधिको तीव्र विकास, युवापुस्तामा नयाँ आकाङ्क्षा तथा विश्वव्यापी परिवर्तनका सन्दर्भमा कम्युनिष्ट आन्दोलनले आफ्ना मूल आदर्श बनाउनुपर्छ”, पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “समय अनुकूल नीति, कार्यशैली र सङ्गठनात्मक अभ्यासलाई निरन्तर परिष्कृत गर्नुपर्ने आवश्यक छ ।”
जनविश्वास पुनःआर्जन गर्ने आधार सिद्धान्तको यान्त्रिक पुनरावृत्ति मात्र नभई समयानुकूल उत्तरदायी र परिणाममुखी राजनीतिक अभ्यासको विकासमा नीहित हुनुपर्ने उनको कथन छ ।













