२९ असार २०८३, सोमबार

कोशी प्रदेशको भुगोलबाट रास्वपा केन्द्रीय सदस्यमा ई. वीरेन्द्र श्रेष्ठको उम्मेदवारी


ई. वीरेन्द्र श्रेष्ठ

ताप्लेजुङ । प्रसिद्ध धार्मिक तथा पर्यटकीय तीर्थस्थल पाथीभरा देवीको जिल्ला ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–१, सिनाममा जन्मिएका विकासकर्मी तथा सामाजिक अभियन्ता ई. वीरेन्द्र श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य पदमा कोशी प्रदेशको भूगोलबाट उम्मेदवारी प्रस्तुत गरेका छन्।

आर्मेनिया इन्जिनियरिङ विश्वविद्यालयबाट इन्जिनियरिङ अध्ययन पूरा गरेका श्रेष्ठले २०५३ सालदेखि २०५८ सालसम्म नेपाल विद्युत् प्राधिकरणको भार प्रेषण केन्द्रमा सिस्टम इन्जिनियरका रूपमा कार्य गरेका थिए। त्यसपछि उनले झण्डै दुई दशकभन्दा बढी समय विभिन्न ६ वटा जलविद्युत् आयोजनाको निर्माण तथा सञ्चालनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (IFC) को लगानी रहेको कावेली–ए जलविद्युत् आयोजनाको प्रमुखका रूपमा समेत जिम्मेवारी सम्हालेका श्रेष्ठले प्रत्यक्ष तथा परोक्ष रूपमा दुई दर्जनभन्दा बढी जलविद्युत् आयोजनामा योगदान पुर्‍याएका छन्।

हिमाली तथा पहाडी क्षेत्रका समस्या, सम्भावना र विकासका चुनौतीलाई नजिकबाट बुझेका इ. श्रेष्ठ २०४६/४७ को जनआन्दोलनका सक्रिय सहभागीसमेत हुन्। लोकतन्त्र र नागरिक अधिकारको पक्षमा उभिँदा उनी दुई पटक प्रहरी हिरासतमा समेत परेका थिए।

राजनीतिक यात्रामा नेपाली कांग्रेसको मनोनीत जिल्ला समिति सदस्य र महाधिवेशन प्रतिनिधिको जिम्मेवारी निर्वाह गरिसकेका इ. श्रेष्ठ २०८० सालमा ताप्लेजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन अभियानका प्रमुख अभियन्तामध्ये एक थिए। पार्टीको जिल्ला संयोजक र जिल्ला सभापतिको भूमिका सफलतापूर्वक निर्वाह गर्दै उनले संगठन विस्तार र सुदृढीकरणमा महत्वपूर्ण योगदान दिएका छन्।

समसामयिक तथा अनुसन्धानात्मक लेख, गजल, कविता, मुक्तक तथा दर्जनौं गीतमार्फत सामाजिक चेतना अभिवृद्धिमा सक्रिय श्रेष्ठले ऊर्जा, पूर्वाधार, सुशासन, रोजगारी र समृद्ध नेपालको स्पष्ट दृष्टिकोण प्रस्तुत गर्दै आएका छन्। अनुभव, कार्यक्षमता, स्वच्छ छवि र संगठनप्रतिको समर्पणका आधारमा आफू केन्द्रीय सदस्य पदका लागि उपयुक्त उम्मेदवार रहेको उल्लेख गर्दै उनले सम्पूर्ण महाधिवेशन प्रतिनिधि तथा पार्टी नेतृत्वसमक्ष समर्थनका लागि आग्रह गरेका छन्।

ई. श्रेष्ठले हिमाल, पहाड र तराईको सन्तुलित विकास, पिछडिएका क्षेत्रको आवाजलाई केन्द्रीय तहसम्म पुर्‍याउने तथा समृद्ध नेपाल निर्माणको अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !