२ असार २०८३, मंगलबार

प्रतिनिधिसभा बैठकः मन्त्रालय र निकायका विभिन्न शीर्षकमाथि छलफल


प्रतिनिधिसभा बैठकः

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल जारी छ । प्रतिनिधिसभाको आजको बैठकमा सत्ता पक्षका सांसदहरूले बजेटमा भएका सकारात्मक पक्षको चर्चा गर्दै कार्यान्वयनमा जोड दिएका थिए भने प्रतिपक्षका सांसदहरूले बजेट परम्परागत भएको भनी टिप्पणी गरेका थिए।

आज विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानुन, न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र, अर्थ, रक्षा मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो ।

बैठकमा सांसद अरविन्द साहले प्रत्येक प्रदेशमा प्राविधिक पार्क निर्माण र कृत्रिम बौद्धिकता (एआई) भित्र्याउनका विदेशी वैज्ञानिकलाई नेपालमा भित्र्याउन कार्यक्रम अघि बढाउनुपर्ने धारणा व्यक्त गरे। सांसद पवित्रा विकले चेपाङ् बालबालिकालाई शिक्षा दिने विषय बजेटमा आउनु राम्रो विषय भएको भन्दै चितवनमा मात्रै नभएर मकवानपुरका बालबालिकालाई पनि ध्यान दिनुपर्नेमा जोड दिए।

सांसद प्रदीप विष्टले सरकारले उद्योग व्यवसाय सञ्चालनमा ध्यान दिनुपर्नेमा जोड दिँदै फर्पिङ क्षेत्रलाई इतिहास झल्किने गरी विकास गरी पर्यटकीय गन्तव्य बनाउनुपर्ने धारणा राखेका थिए। सांसद सन्दीप रानाले २१औँ शताब्दीमा विकासका साथै कृत्रिम बौद्धिकता र आधुनिक प्रविधिको विकास गर्नुपर्नेमा जोड दिँदै प्रविधिमैत्री सरकार भने पनि सो क्षेत्रमा बजेट न्यून मात्रै छुट्याएको प्रति सरकारको ध्यानकर्षण गराएका थिए।

सांसद रीना उप्रेतीले सोलुखुम्बुमा उद्गमस्थल भएका नदीहरू, अन्य देशभरि नदीहरूका बारेमा कानुन बनाई स्रोतसाधनको बाँडफाँटमा ध्यान दिनुपर्ने धारणा व्यक्त गरे। सांसद भरतप्रसाद पराजुलीले वायु प्रदूषणका कारणले बर्सेनि हजारौँ मानिस प्रभावित हुने गरेका बताउँदै काठमाडौँ, विराटनगरलगायत ठूला सहरमा स्वच्छ वायुका लागि बजेटमा दीर्घकालीन समस्या समाधानको योजना नभएकोप्रति सरकारको ध्यानाकर्षण गराएका थिए।

सांसद खड्ग शाहीले नेपालका दक्ष जनशक्ति दिनप्रतिदिन विदेसिने गरेको अवस्थामा स्वदेशमै रोक्नका लागि सरकारले विशेष योजना ल्याउनुपर्नेमा जोड दिँदै अर्थमन्त्रीको यस विषयमा योजना के छ त्यो प्रस्ट पार्न माग गरे।

सांसद हरिप्रसाद भूसालले नागढुङ्गा चेकपोष्टबाट गाडीहरू काठमाडौँ प्रवेश गर्ने क्रममा गैरकानुनी रूपमा गाडीबाट पैसा उठाउने गरेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै नियन्त्रणको माग गरेका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !