२ असार २०८३, मंगलबार

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता


परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौँ । चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी)को राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता भएको छ।

उनीहरूबीच मंगलबार बिहान बेइजिङमा भएको भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध आयामहरूमा छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।

विशेषतः विकास सहकार्य, व्यापार, लगानी, पर्यटन, राजनीतिक आदानप्रदान तथा जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको दूतावासको भनाइ छ।

नेपाल–चीनबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ र गतिशील बनाउने सिपिपिसिसी अध्यक्ष वाङको दृढ प्रतिबद्धताको उच्च प्रशंसा गर्दै मन्त्री खनालले दुई देशबीचको परम्परागत मित्रता र पारस्परिक सहयोग आगामी दिनमा अझ सशक्त हुँदै जाने विश्वास व्यक्त गरे।

मन्त्री खनालले आजै ‘ह्वाइट पागोडा’को भ्रमण गर्नुहुने र त्यसपछि चिनियाँ सञ्चारमाध्यम तथा रोयटर्सलाई अन्तर्वार्ता दिने तालिका रहेको छ। उनी अपराह्न नेपाली दूतावास बेइजिङमा आयोजना हुने लगानी सम्मेलनमा सहभागी हुनेछन्।

मन्त्री खनाल चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्यूरो सदस्य वाङ यीको निमन्त्रणामा आइतबार बिहान बेइजिङ पुगेका थिए । उनीहरूबीच सोमबार प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो।

मन्त्री खनाल भ्रमण सम्पन्न गरी भोलि असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !