२६ जेष्ठ २०८३, मंगलबार

गृहमन्त्रीमा सुधन र विज्ञान, प्रविधिमन्त्रीमा महावीरको नाम सिफारिस


गृहमन्त्रीमा सुधन र विज्ञान, प्रविधिमन्त्रीमा महावीरको नाम सिफारिस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । प्रधानमन्त्री शाहले गृह र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन् ।

प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार दुई मन्त्री नियुक्तिका लागि सिफारिस भइसकेको हो । गृहमन्त्रीमा सुधन गुरूङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनको नाम सिफारिस भएको हो ।

गुरुङको सम्पत्तिबारे प्रश्न उठेपछि गत वैशाख ९ गते उनले राजीनामा दिएका छन् । वर्तमान सरकारमै यसअघि गृहमन्त्री रहेका गुरुङको सम्पत्तिमाथि प्रश्न उठाइएपछि उनले पदबाट राजीनामा दिएका थिए । उनको सम्पत्ति छानबिन गर्न सरकारद्वारा पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षताको गठित समितिले प्रधानमन्त्री बालेनलाई प्रतिवेदन बुझाइसकेको छ ।

समितिले उनको सम्पत्तिमा कैफियत नदेखिएको भन्दै प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री शाहले पुन: गृहमन्त्रीमा फिर्ता गर्न लागेका हुन् । आजको मन्त्रिपरिषद बैठकले सुधनमाथिको छानबिन प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।

पुनको माग बमोजिम सरकारले विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि बजेट समेत विनियोजन गरेको छ । बजेट भाषणका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो क्षेत्रमा पूँजीगत खर्चको एक प्रतिशत बजेट विनियोजन गरिएको बताएका थिए ।

उक्त मन्त्रालयका लागि पुनले बजेटको अनुपात सहितको माग राख्दै आएका थिए । उनी म्याग्दीबाट निर्वाचित भएका थिए । सुशीला कार्की नेतृत्वको सरकारमा उनी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री थिए ।‍ आज दिउँसो ३ बजे यी दुई मन्त्रीको राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने तयारी गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !