काठमाडौँ । नेपालको राजनीतिमा धेरै चर्चा हुने लेण्डुप दोर्जे सिक्किमका एक प्रमुख राजनीतिक नेता थिए । उनको जन्म सन् १९०४ मा सिक्किमको एउटा कुलीन वर्ग (काजी परिवार) मा भएको थियो । उनी सिक्किमको प्रथम वा अन्तिम प्रधानमन्त्री तथा सिक्किम भारतमा विलय भएपछिका प्रथम मुख्यमन्त्री थिए ।
लेण्डुपले सिक्किमलाई भारतमा विलय गराउन प्रमुख भूमिका खेलेका थिए । नेपाली राजनीतिज्ञहरूले पनि आफ्ना विपक्षी नेतालाई बेलाबेलामा ‘लेन्डुप दोर्जे’को संज्ञा दिएर आरोपप्रत्यारोप गरेको निकै सुनिन्छ । सिक्किमलाई भारतमा विलय गराएका लेन्डुप दोर्जेलाई देशद्रोह र गद्दारको पर्याय मानिन्छ ।
उनी सन् १९५३ मा सिक्किम स्टेट कंग्रेसको अध्यक्ष भए भने सन् १९६२ मा लेन्डुप सिक्किम नेसनल कंग्रेसको अध्यक्ष भए । सन् १९७४ को अन्तिम निर्वाचनमा ३२ मध्ये ३१ सिट जितेर दोर्जीको पार्टी सिक्किम नेसनल कंग्रेसले प्रचण्ड बहुमत ल्यायो र लेन्डुप दोर्जे बहुमत सरकारको प्रधानमन्त्री बने ।
सिक्किमका राजा चोग्याल र संसदबीच तीव्र शक्ति संघर्ष हुँदा सन् १९७४ को जुलाई ४ मा सिक्किमको दुईतिहाइ संसदले सिक्किम भारतको प्रान्त हुने प्रस्ताव पारित गर्यो र सिक्किम भारतमा विलय भयो । यसरी सिक्किम एउटा छुट्टै स्वाधीन राष्ट्रबाट छिमेकी राष्ट्र भारतको एउटा प्रान्तको रुपमा स्थापित भएपछि सिक्किमका प्रधानमन्त्री लेन्डुप दोर्जे भारतको प्रान्त सिक्किमका मुख्यमन्त्री बने ।
सन् १९७५ अप्रिल ६ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले परिचालन गरेका करिब ५ हजार सेना सिक्किमको राजधानी गान्तोक पुगे । तिनले राजा चोङग्याललाई नियन्त्रणमा लिई संसद्को प्रस्ताव अनुमोदन गर्न बाध्य पारे । सिक्किममा राजतन्त्रको अन्त्य भयो र यसरी सिक्किम भारतमा विलय भयो ।
जीवनको उत्तरार्धमा राजनीतिक रूपमा एक्लो परेका दोर्जीको २८ जुलाई २००७ मा भारतको पश्चिम बङ्गाल राज्यको कालिम्पोङमा रहेको उनको घरमा हृदयघातका कारण मृत्यु भएको थियो । लेन्डुप दोर्जे यसरी भारतीय हितमा आफ्नै देशको विरुद्ध प्रयोग हुने राष्ट्रघाती तथा गद्दार प्रधानमन्त्रीका रूपमा चित्रित भए ।













