काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । आज शुक्रबार समितिका पदाधिकारी प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर प्रतिवेदन बुझाएका हुन् ।
छानबिन समितिका संयोजक पूर्वन्यायाधीश अच्युतम प्रसाद भण्डारीले थपिएको समय अगावै ४५ पृष्ठको छानबिन प्रतिवेदन आज शुक्रबार सरकारलाई बुझाएको बताए ।
तत्कालीन गृहमन्त्री गुरुङले मन्त्री हुँदा सार्वजनिक गरेको सम्पत्ति र सेयर लगानीको स्रोतमा प्रश्न उठेपछि छानबिनका लागि गठित समितिले प्रधानमन्त्री शाहलाई प्रतिवेदन बुझाएको छ ।
मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको थियो ।
समितिलाई प्रतिनिधिसभा सदस्य समेत रहेका गुरुङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्यतथ्य अध्ययन तथा छानबिन गरी सरकारसमक्ष सुझावसहित प्रतिवेदन बुझाउने कार्यादेश दिइएको थियो ।
गुरुङ र व्यवसायी दीपक भट्टबीच व्यवसायीका साझेदारी देखिएको भेटिएको थियो । त्यसबाहेक गुरुङमाथि सम्पत्ति विवरण सार्वजनिक गर्दा सेयर लुकाएको आरोप लागेको थियो । आरोपपछि गुरुङले वैशाख ९ गते राजीनामा दिएका थिए ।













