काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गरेका छन् । भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणमा परराष्ट्रमन्त्री खनाल आज नयाँदिल्ली प्रस्थान गरेका हुन् ।
परराष्ट्र मन्त्रालयले यसअघि नै भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छ । खनाल तीन दिन भारत भ्रमणमा रहनेछन् । भारत भ्रमणमा रहँदा खनाल द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय बैठकमा सहभागी हुनेछन् ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी विदेशमन्त्री डा. जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नेछन् । उक्त बैठकमा नेपाल र भारतबीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । पार, लगानी, सम्पर्क, ऊर्जा तथा जनस्तरको सम्बन्धलगायत प्रमुख क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यका साथ दुवै पक्षले आपसी हितका विषयमा छलफल गर्ने बताइएको छ ।
नयाँ सरकारको प्राथमिकताका विषयमा पनि भारतसँग छलफल हुने उनको भनाइ छ । उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदान अन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल र भारतबीचको दीर्घकालीन तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।













