फाइल फोटो काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन शाहले ‘नेपालले समेत भारतको जग्गा मिचेको’ भनेर दिएको अभिव्यक्ति गलत र राष्ट्र विरोधी भएको बताएका छन् ।
पूर्वप्रधानमन्त्री खनालले फेसबुकमा लेख्दै अभिव्यक्तिलाई ‘खतरनाक’ भन्दै खनालले बालेनलाई प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने टिप्पणी समेत गरेका छन् । खनालले प्रधानमन्त्री बालेनको अभिव्यक्तिले देशभित्र र बाहिर रहेका ३ करोड नेपाली जनताको देशभक्तिपूर्ण भावनामाथि कुठाराघात भएको बताएका छन् ।
यस सम्बन्धमा प्रधानमन्त्री शाहले माफी माग्नुपर्ने खनालको धारणा छ । साथै उनले सो अभिव्यक्तिलाई संसदको रेकर्डबाट तत्काल हटाउन पनि सभामुख समक्ष आग्रह गरेका छन् ।
आइतबार प्रतिनिधिसभामा सांसदहरूको जवाफ दिने क्रममा बालेनले नेपालले पनि भारतको जग्गा मिचेको दाबी गरेका थिए । यो विवादित अभिव्यक्तिपछि प्रधानमन्त्री बालेनको विरोध हुँदै आएको छ ।













