१३ जेष्ठ २०८३, बुधबार

प्रतिनिधिसभामा जनजीवनका समस्याबारे ध्यानाकर्षण


प्रतिनिधिसभा

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठको आकस्मिक समयमा सांसदहरूले जनजीवनका सवाल र बेमौसमी वर्षाका कारण उत्पन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसद साजिदा खातुन सिद्धिकीले ‘डायलाइसिस’ गर्ने मेसिन देशका सबै अस्पतालमा उपलब्ध गराउन माग गरिन् ।

सांसद खड्गबहादुर शाहीले मुगुमा यार्सागुम्बा सङ्कलनका क्रममा यही जेठ १० गते टाँकेखोलामा लेक लागेर पेमा लामाको निधन भएको र अहिलेसम्म लास उठाउन नसकिएको समस्या राखे ।

सांसद जनकसिंह धामीले कञ्चनपुरको शुक्लाफाँटा क्षेत्रमा वीरेन्द्र ठगुन्ना र उनको परिवार बाघको आक्रमणबाट घाइते भएको विषयमा ध्यानाकर्षण गराउँदै वन्यजन्तुको आक्रमणबाट हुने यस किसिमको क्षति नियन्त्रण गर्न माग गरे ।

सांसद अनुष्का श्रेष्ठले ट्राफिक व्यवस्थापनमा सुधार देखिए पनि अझ व्यवस्थित गर्न अनुरोध गरिन् ।

सांसद हरिमोहन भण्डारीले बैतडीमा असिनाबाट कृषिबालीमा क्षति भएको जनाउँदै भीषण वर्षापछिको बाढी, पहिराबाट हुने मानवीय क्षति हुन नदिन बस्ती सार्ने वा पहिरो नियन्त्रण गर्ने कार्यक्रम ल्याउन अनुरोध गरे ।

सांसद श्रीराम न्यौपानेले बाँदरका कारण पीडित भएका किसानलाई राहत दिन र देशभर बढिरहेको बाँदरको समस्या समाधान गर्न आग्रह गरे ।

सांसद निष्कल राईले कामको सिलसिलामा विदेशमा रहेका नेपालीले दुःख व्यहोर्नुपरेको उल्लेख गर्दै क्रोयसियामा सडक दुर्घटनामा निधन भएका नेपालीको शव स्वदेश ल्याउन समस्या भएकाले त्यसतर्फ ध्यान दिन अनुरोध गरे ।

सांसद रमेशकुमार सापकोटा हावाहुरीका कारण कर्णालीका विभिन्न जिल्लामा बिजुली अवरुद्ध भएको अवगत गराए । सांसद ऐनबहादुर महरले सिंहदरबारभित्रको संसद् भवनलाई हतारमा नभई सही र व्यवस्थित ढङ्गबाट सञ्चालन गर्नुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !