८ जेष्ठ २०८३, शुक्रबार

प्रयोगकर्तालाई थाहा नदिइ विधेयक निर्माण हुनु हुँदैनः सभामुख अर्याल


डोलप्रसाद अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले देश र नागरिकलाई सुहाउँदो कानुन निर्माणमा विधायकले ध्यान दिनुपर्ने बताएका छन् । पूर्वसांसद मञ्च नेपालले आज ‘संसदीय समितिमा विधायकी र गैरविधायिकी अभ्यास’ विषयक अन्तरसंवादमा उनले पुराना कानुनको संशोधन र खारेजी तथा भविष्यलाई हेरेर विधायकी कामकारबाही अघि बढाउनुपर्ने बताए ।

सभामुख अर्यालले विधेयकको मस्यौदा निर्माणमा भइरहेको अभ्यासले व्यावहारिकतालाई सम्बोधन गर्न नसकिरहेको दृष्टान्त सुनाए । ‘विधेयकको निर्माण कसले गर्दिन्छ, कसलाई सोधेर र कोसँग छलफल गरेर गरिन्छ ?’, उनले भने ।

कानुनको प्रयोगकर्तालाई थाहा नदिई निर्माण भएका कतिपय विधेयकले हाम्रो भूगोल र चेतनाको स्तरलाई समेट्न नसकेको पाइएको उनको भनाइ छ । ‘कानुनको प्रयोगकर्तालाई कस्तो कानुन बन्छ भन्ने थाहा हुँदैन । हामी कानुन बनाइदिन्छौँ, ‘तिमी प्रयोग गर’ भनेर लाद्ने कोसिस गर्छौँ’, सभामुख अर्यालले भने, ‘यसबाट जनताले आफूले प्रयोग गर्ने कानुन थाहा पाउँदैनन् र जबर्जस्ती सो कानुन पालना गर्न बाध्य हुन्छन् ।’

सभामुख अर्यालले मुलुकमा गणतन्त्रको बिहानी ल्याउन पूर्वसांसदहरूले खेलेको भूमिका असाधारण रहेको बताए । उनले अग्रजहरूको अनुभव र तत्कालीन राजनीतिक परिस्थितिमा गरेको संघर्ष तथा पछिल्लो पुस्ताको क्रियाशीलताबाट मुलुक समृद्धिको यात्रामा अघि बढ्ने विश्वास व्यक्त गरे ।

मञ्चका उपाध्यक्ष सुशीला शर्माले पूर्वसांसदको अनुभव र वर्तमान सांसदको क्रियाशीलताले संसदीय अभ्यासले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरिन् । मञ्चका कार्यवाहक अध्यक्ष विष्णुबहादुर राउतले ‘संसदीय समितिमा विधायकी अभ्यास’, ‘संसदीय समितिमा गैरविधायकी अभ्यास’ र ‘अन्तर्राष्ट्रिय महासन्धि र अदालतका आदेश कार्यान्वयनमा समितिको भूमिका’ विषयमा विज्ञबाट प्रस्तुति गर्ने कार्यक्रम रहेको जानकारी दिइन् ।

कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका विषयगत समितिका सभापति, पूर्वसांसद, संविधानसभा सदस्य, बहालवाला सांसद, संघीय संसद सचिवालयका महासचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलगायत उपस्थिति थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !