कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले धार्मिक तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण बनाइएका अनधिकृत भौतिक संरचनाहरू हटाउने भएको छ ।
नगरपालिकाले वडा नं. ६, रिच्छाहास्थित भुइँया मन्दिरको नाममा दर्ता स्रेस्ता कायम रहेको जग्गामा प्रचलित कानुन विपरीत व्यक्तिगत प्रयोजनका लागि बनाइएका भौतिक संरचनाहरू हटाइने भएका हुन् । नगरपालिकाले अनधिकृत संरचना हटाउनका लागि सात दिने समयसीमा दिएको छ ।
नगरपालिकाका अनुसार रिच्छाहा (साविक श्रीपुर गाविस–३) स्थित सिट नं. ०२६०८७१, कित्ता नं. २४१ को सरकारी तथा सार्वजनिक लगतमा रहेको मन्दिरको जग्गा स्थानीयले जबरजस्ती भोगचलन गर्दै भौतिक संरचना निर्माण गरिरहेको उजुरी परेपछि नगरपालिकाले कानुनी प्रक्रिया अघि बढाएको थियो ।
सो विवादका सम्बन्धमा नगरपालिकाको न्यायिक समितिले २०८२ पुस १६ गते नै स्थलगत अनुगमन तथा प्राविधिक नापजाँच र रेखाङ्कन गरी मन्दिरको जग्गा अतिक्रमण भएको पुष्टि गरेको थियो । त्यसैगरी, २०८२ चैत २३ गते बसेको नगर कार्यपालिकाको बैठकले समेत अतिक्रमित जग्गा खाली गराउन आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशीद्वारा जारी सूचनामा भनिएको छ, “अतिक्रमणकारी पक्षसँग पटक–पटक मौखिक भेटवार्ता र परामर्श गर्दा समेत संरचना हटाउन आलटाल गरिएको र मन्दिर व्यवस्थापन समितिले घेराबार गर्न लागेको काममा समेत बाधा व्यवधान खडा गरी क्षति पुर्याएको पाइएकाले यो कदम चालिएको हो ।”













