काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन वटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ती अध्यादेशहरू जारी गरेका हुन्।
जारी गरिएका अध्यादेशहरूमा ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ रहेका छन्।
गत शुक्रबार राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तेस्राे संशाेधन अध्यादेश,२०८३ जारी गरेका थुए । त्यसअघि राष्ट्रपतिले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ र सहकारीसम्बन्धी अध्यादेश जारी गरेका थिए ।
सरकारले अन्य केही अध्यादेश पनि जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । संवैधानिक परिषद्सहितका अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सरकारले सिफारिस गरेको थियो ।
उक्त अध्यादेशबारे भने राष्ट्रपति पौडेलले अध्ययन गरिरहेका छन् । संसद्को अधिवेशन रोकेर सरकारले तत्काल आवश्यक ठानेका यी विषयहरूलाई कानुनी रूप दिन अध्यादेशको बाटो रोजिएको हो ।












