३ बैशाख २०८३, बिहिबार

प्रधानमन्त्री बालेनले सातै प्रदेशका मुख्यमन्त्रीसँग आज छलफल गर्दै


बालेन शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले कार्यभार सम्हालेपछि पहिलो पटक हुन लागेको सो छलफल सङ्घ प्रदेश सरकारसँग सम्बन्धित विविध महत्वपूर्ण र गहन विषयमा हुनेछ ।

अपराह्न २ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुने सो छलफल सङ्घ–प्रदेश समन्वयलाई अझ प्रभावकारी बनाउने महत्वपूर्ण पहलका रूपमा पनि हेरिएको छ ।

सचिवालयका अनुसार छलफलमा विकास–निर्माणका कार्यलाई तीव्रता दिने, स्रोतसाधनको समुचित बाँडफाँट सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित रहनेछ ।

साथै, राष्ट्रिय प्राथमिकताका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषय पनि छलफलको मुख्य ‘एजेण्डा’ हुनेछ ।

देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने प्रयाससमेत आजको सो छलफलमा हुने अपेक्षा गरिएको छ ।

सङ्घीयता कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने र जनतालाई प्रत्यक्ष लाभान्वित गराउने महत्वपूर्ण कदमका रूपमा यो छलफललाई लिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !