टीकापुर । कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा पुल निर्माण अन्तिम चरणमा पुगेको छ । विक्रम संवत् २०८३ असोज १७ गतेसम्म पुल निर्माणको काम सक्ने गरी नेपाल सरकारसँग निर्माण कम्पनीसँग सम्झौता भएको र सम्झौता मिति अगाडि नै पुल निर्माण सक्ने गरी काम भइरहेको निर्माण कम्पनीका इञ्जिनियर धिरेन्द्र सहनीले जानकारी दिए ।
‘विसं २०७९ पुस महिनामा सम्झौता भएर सर्वेक्षणपछि २०८० मा निर्माण काम सुरु गरेका हौँ, असोजसम्म म्याद भए पनि असार अन्त्यसम्म काम सकेर सरकारलाई बुझाउने गरी काम भइरहेको छ’, उनले भने, ‘सम्झौता मितिभन्दा अगावै नै काम सक्छौँ ।’
चौध पिलरको पुलका सबै पिलर बनिसकेका छन् भने अहिले १२औँ स्पानमा काम भइरहेको छ । अबको १५ दिनभित्र त्यो पनि सकेर १३औँ स्पानको काम सुरु हुनेगरी काम भइरहेको उनको भनाइ छ । स्पानसँगै कैलालीतर्फको भागमा तटबन्धको काम पनि सँगसँगै भइरहेको छ ।
पुलको काम अन्तिम चरणमा पुग्नै लाग्दा अहिले नदी वारपार गर्ने मानिसहरू आधा पुल र आधा नदीको बाटो प्रयोग गरेर नदी वारपार गरिरहेका छन् । नदीको पानी ‘डाइभर्सन’ गरिएकाले पहिलेको जसरी डुङ्गाको सहायतामा नदी पार गर्नुपर्ने अवस्था नागरिकको अहिले नै टरेको छ । आफ्नै सवारीसाधन प्रयोग गरेर नदी वारपार गरिरहेका कैलालीको टीकापुरका भरत विकले बताए । ‘रकम तिरेर डुङ्गाको सहायतामा नदी तर्नुपर्ने बाध्यता थियो, अब टरेको छ,’ उनले भने, ‘यो पुल निर्माण सकिएमा कैलाली र बर्दियाका नागरिकलाई धेरै राहत हुन्छ ।’
जनकबहादुर विष्टलाई पनि पुल निर्माणको काम अन्तिम चरणमा पुग्दैगर्दा आफ्नै सवारीसाधन चलाएर नदी पार गर्न पाउँदा निकै खुसी लागेको छ । ‘हामी कैलालीका नागरिक अधिकांशको खेतीपाती बर्दियामा छ, नियमितजसो आउजाउ गर्नुपर्ने वाध्यता छ’, उनी भन्छन्, ‘विगतमा पुल नहुँदा निकै कठिनाइ झेलेका छौँ, अब ढुक्कले वारिपारि गर्न पाइने भयो ।’
कैलालीका नागरिकको खेतीपाती बर्दियामा छ भने बर्दियाका नागरिक किनमेल र उपचारका लागि टीकापुर जाने गर्छन् । पुलले दुवै जिल्ला मात्र नभई सुदूर र लुम्बीनी प्रदेशलाई नै जोड्ने भएकाले सहज भएको स्थानीय झपट कडायत बताउँछन् । ‘डुङ्गाको यात्रा गर्न डर लाग्ने भएकाले सत्ती पुल हुँदै आउजाउ गर्ने गर्थे,’ उनले भने, ‘अब बर्दिया आउजाउ गर्दा २० किलोमिटर दूरी कम हुनेछ ।’
बर्दियाको गेरुवा गाउँपालिका– १ सर्खोलका करण चौधरीलाई पनि अहिले कैलाली र बर्दिया आउजाउ गर्न सहज भएको छ । पहिले एकतर्फी डेढ दुई घण्टा समय लाग्ने गरेको र अहिले एक घण्टामै दुईतर्फीको यात्रा सकिने गरेको छ । ‘पुल पूर्ण नहुँदै यसरी सहज रूपमा नदी वारपार गर्न पाएकामा धेरै सुविधा भएको छ’, उनी भन्छन्, ‘आउँदो बर्खाअगाडि नै पुल निर्माण सम्पन्न होस्, र सहज रूपमा ठूला सवारीसाधन पनि चल्ने वातावरण बनोस् ।’
१ अर्ब १८ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको पुलको लम्बाइ ७५२ मिटर रहेको छ भने पुलको चौडाइ ११ मिटर, जसमा ७.५ मिटर गाडी हिँड्ने र बाँकी दुवैतर्फ पैदल यात्रुका लागि फुटपाथ रहेको छ ।
निर्माण कम्पनीले सरकारसँग १७ असोज २०८३भित्र पुल निर्माण काम सक्नेगरी २७ पुस २०७९ मा सम्झौता गरेको थियो । सम्झौताअनुसार पुल निर्माणसँगै पुलको दुवैतर्फ ५०० मिटर पहुँच मार्ग र दुवैतर्फ १ हजार १५ मिटर नदी नियन्त्रणको काम पनि गरिरहेको छ ।
यसअघि यी दुई जिल्लाका मानिसले चिसापानीस्थित कर्णालीको पुल र हुलाकी राजमार्गको सत्ती घाटको पुल विकल्पका रूपमा प्रयोग गर्दै आएका थिए । यो पुल निर्माण भएसँगै अब कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा तीनवटा पुल हुनेछन् । २०५० सालमा सुदूरपश्चिमको प्रवेशद्वारका रूपमा कर्णाली चिसापानीमा निर्माण भएको पुल र २०७३ सालमा टीकापुर र राजापुर नगरपालिकालाई जोड्ने कर्णाली नदीकै सत्तीघाटमा पुल सञ्चालनमा छन् ।













