काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालको शपथ आजै हुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार, आज दिउँसो २:३० बजे सभामुख अर्यालको शपथ ग्रहणको कार्यक्रम तय भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम रहेको छ । त्यसपछि उनी आजै कार्यकक्ष पुगेर पदभार ग्रहण गर्नेछन् ।
अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरे । अब भोलिदेखि अर्यालले नै प्रतिनिधि सभा बैठक सञ्चालन गर्नेछन् ।













