१३ चैत्र २०८२, शुक्रबार

नवनियुक्त प्रधानमन्त्री बालेन शाहले लिए शपथ


नवनियुक्त प्रधानमन्त्री बालेन शाहले लिए शपथ

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन शाहले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो विशेष कार्यक्रमका बीच राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं संसदीय दलका नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराएका हुन् ।

यसअघि आजै राष्ट्रपति पौडेलले नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । नेपालको संविधानको धारा ७६ को उपधारा (१) अनुसार एकल सरकार गठन भएको हो ।

सपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमानप्रधानमन्त्री सुशीला कार्की र पूर्व प्रधानमन्त्रीहरु उपस्थित हुनुहुन्थ्यो । समारोहमा संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित थिए ।

प्रधानमन्त्रीको शपथ पहिलोपटक वैदिक–सनातन परम्परा झल्किने गरी गरिएको थियो । समारोहमा सात शङ्खबाट शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ–मङ्गल पाठ गरेका थिए ।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित निकालेको छ । सो दलले बिहिबार मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !