काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ सहित तीन मन्त्रालयको जिम्मेवारी पाएका कुलमान घिसिङले पुनर्निर्माण कोषमा योगदान गर्न आह्वान गरेका छन् । घिसिङले पत्रकार सम्मेलन गर्दै राष्ट्रिय पुनर्निर्माण कोषमा आर्थिक सहयोगका लागि अपिल गरेका हुन्।
सरकारले आफूसहित सरकारी निकाय, सर्वसाधारण जनतादेखि विदेशी साझेदारसम्मलाई यो अभियानमा जोडिन आह्वान गरेको छ। सरकारले अर्थमन्त्रीको अध्यक्षतामा पुनर्निर्माण समिति समेत गठन गरिसकेको छ ।
सरकारले भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणमा सहभागी हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा अपिल गरेको हो ।
पुनर्निर्माण कोष खडा भएको बताउँदै मन्त्री घिसिङले संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्रराष्ट्रहरु, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुबाट अमूल्य योगदान गरी राष्ट्र निर्माणमा सहभागी हुन आह्वान गरेका हुन्।









