२६ फाल्गुन २०८२, मंगलबार

सभामुख घिमिरेद्वारा सत्तारुढ पार्टीका प्रमुख सचेतकहरुसँग छलफल


सभामुख घिमिरेद्वारा सत्तारुढ पार्टीका प्रमुख सचेतकहरुसँग छलफल फाइल फोटो

काठमाडौँ । सभामुख देवराज घिमिरेले आज सङ्घीय निजामती सेवा विधेयक, २०८० मा भएको त्रुटिका सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका विषयमा छलफल गरेका छन् ।

उनले सत्तारुढ एमाले मुख्य सचेतक महेशकुमार बर्ताैला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयसँग अलग अलग छलफल गरेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

कतिपय महत्त्वपूर्ण विधेयक समितिमा विचाराधीन रहेको बताउँदै उनले समितिको प्रतिवेदन कार्यान्वयन गरी राज्यव्यवस्था तथा सुशासन समितिको कामलाई गति दिनुपर्ने भएकाले त्यस विषयमा दलहरूलाई साझा धारणा बनाउन आग्रह गरे ।

राज्यव्यवस्था समितिको कामलाई प्रभावकारी बनाउन नयाँ सचिवको रुपमा सहसचिव कान्छा दुलाललाई जिम्मेवारी दिएको जानकारी दिँदै समितिको काम अब धेरै समय रोक्न नसकिने उल्लेख गरे । नेताहरूले प्रमुख दलहरूको सुझावका आधारमा निर्णय गर्न सभामुखलाई सुझाव दिएका छन् ।

सभामुखले गत शुक्रबार सचिवालयका कानुन सहसचिव लक्ष्मीप्रसाद गौतम र कार्यव्यवस्था महाशाखा प्रमुख सहसचिव एकराम गिरीसँग विशेष समितिको प्रतिवेदन कार्यान्वयनका विषयमा परामर्श गरेका थिए । सभामुखले मङ्गलबार पनि अलग-अलग सुझाव लिएर संयुक्त बैठक गर्ने तयारी गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !