१२ चैत्र २०८२, बिहिबार

दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प


दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प

बलेवा, बागलुङ । बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि आएको पहिरोका कारण दव्ल्याङमा सडक बगाएको हो ।

सामान्य वर्षामा समेत उक्त सडक अवरुद्ध हुने गरेको छ । करिडोर अवरुद्ध हुँदा बागलुङ सदरमुकाम बागलुङ बजारबाट जिल्लाको दक्षिणी क्षेत्रमा सवारी आवागमन ठप्प भएको प्रहरी सहायक निरीक्षक गङ्गाराम विकले बताए । करिडोर हुँदै लामो दूरीका लागि छुटेका सवारीसाधन समेत बाटोमै थन्किएका छन् ।

कालोपत्र गर्ने काम चलिरहेको बागलुङ–बलेवा विमानस्थल खण्डमा ठाउँठाउँमा पहिरोले करिडोर भत्काएको छ । कालोपत्रको काम गरिरहेको बिडारी निर्माण सेवाले पहिरो पन्छाउने र पहिरोले बगाएका संरचना पुनर्निर्माणको काम गरिरहेको भए पनि सडक खुल्न केही समय लाग्ने प्रहरी सहायक निरीक्षक विकले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !