१४ बैशाख २०८१, शुक्रबार

एन्फाले थ्रीस्टारलाई क्षतिपूर्तिस्वरुप डेढ करोड दिने, ‘ए’ डिभिजन लिगमा १६ टोली


भदौ ३०, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्रीस्टार क्लबलाई क्षतिपूर्तिस्वरुप रु एक करोड ५० लाख दिने भएको छ । एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको एन्फाको केन्द्रीय समितिको बैठकले करिब १० महिनापछि थ्रीस्टारलाई उक्त रकम औपचारिकरुपमा दिने निर्णय गरेको हो ।

थ्रीस्टारले गत वर्ष एन्फाको लापरबाहीका कारण एएफसी कपको दोस्रो चरणको खेल खेल्न पाएको थिएन । उक्त खेल खेल्न नपाएपछि थ्रीस्टारले रु ६ करोड क्षतिपूर्तिसहित दोषीमाथि कारबाहीको माग गरेको थियो । उक्त निर्णय आगामी असोज २३ गते हुने एन्फाको विशेष साधारणसभाबाट अनुमोदनका लागि प्रस्तुत् गरेपछिमात्र कार्यान्वयन प्रक्रिया अघि बढ्ने एन्फाले जनाएको छ ।

बैठकले ‘ए’ डिभिजन क्लबका १२ टोली र २०७२ सालमा राष्ट्रिय लिग खेलेका मोफसलका चार क्लबलाई समेटेर १६ टोलीलाई ‘ए’ डिभिजन लिग खेलाउने निर्णय गरेको छ । बिहीबारैको बैठकले साफ १५ वर्षमुनिको (यु–१५) च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गरेको नेपाली टोलीका प्रत्येक खेलाडी, प्रशिक्षक र फिजियोथेरापिस्टलाई जनही रु २५ हजार पुरस्कारस्वरुप दिने निर्णय गरेको छ । घरेलु मैदानमा नै भएको उक्त प्रतियोगितामा नेपाल फाइनल खेलमा भारतसँग पराजित हुँदै दोस्रो बनेको थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !