१४ बैशाख २०८१, शुक्रबार

मछिन्द्रनाथ जात्राको साइत आगामी बिहीबार हेरिने


१८ वैशाख, ललितपुर । रातो मछिन्द्रनाथको रथयात्रा अघि बढाउन दोस्रो चरणको साइत हेर्ने काम आगामी बिहीबार गरिँदैछ ।

यस पटक हेरिने साइतले भोटोजात्रा कहिले हुन्छ भन्ने टुङ्गो लगाउनेछ । अहिले देवता थटिटोलमा छ । साइत जुन दिनको निस्कन्छ त्यही दिनमा जाउलाखेल लगिने ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशी बताउछन् । जाउलाखेल पुगेको चार दिनका दिन भोटोजात्रा देखाइने गरिन्छ ।

यस वर्ष आगामी जेठ २ गतेदेखि एक महिनासम्म मलमास छ । त्यसभन्दा अघि वा पछि रथलाई जाउलाखेल पु-याइन्छ । मलमास अवधिभर रथ तान्नु शुभ मानिँदैन । जोशी भन्छन्, ‘त्यसैले भोटोजात्राको पनि कि त मलमास पहिलेको साइत निस्कन्छ कि त त्यसपछि ।’

रातो मछिन्द्रनाथको जात्राका लागि दुई चरणमा साइत हेरिन्छ । पहिलो चरणमा बुङ्गमतीवाट पाटन ल्याउनका लागि तथा दोस्रो चरणमा रथ थटिटोलमा पुगेपछि जाउलाखेल लैजानका लागि हेरिन्छ । थटिटोलवाट जाउलाखेलसम्मको रथयात्रालाई मछिन्द्रनाथको बाह्य लोकको भ्रमणसमेत भनिन्छ। त्रिलोक भ्रमण सम्पन्न भएपछि बाह्य लोकको भ्रमण हुने गर्छ। जाउलाखेलसम्मको रथ तान्नका लागि नगरका बाहिरी भागका मानिस सहभागी हुन्छन्। उनी भन्छन्, ‘विशेष गरेर कीर्तिपुरवासी रथ तान्न आउने गरेका छन् ।’

काठमाडौं उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको मछिन्द्रनाथको जात्रालाई ललितपुरवासीले विशेष महत्वका साथ मनाउने गरेकाछन् । मछिन्द्रनाथलाई सहकाल र वर्षाका देवता मानिन्छ । रथ यात्रा हुन थालेपछि काठमाडौं उपत्यकामा वर्षा हुने पाइएकाले त्यो प्रिमनसुन वा देवताको शक्ति हो भन्ने तर्कहरु आइरहेका छन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !