१४ बैशाख २०८१, शुक्रबार

कांग्रेसले भन्यो–‘अतिवादी गठबन्धनले मुलुकमा अस्थिरता ल्याउँछ’


असोज २०, काठमाडौँ । नेपाली कांग्रेसले लोकतन्त्रको रक्षा गर्न र राष्ट्रिय एकता कमजोर हुन नदिनका लागि लोकतन्त्रवादी शक्तिहरुलाई एक ठाउँमा आउन आह्वान गरेको छ । कांग्रेस केन्द्रीय समितिको शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ‘अतिवादी गठबन्धनले मुलुकमा अस्थिरता चाहेको’ भन्दै त्यो पूरा हुन नदिन सबैलाई एक ठाउँमा आउन आह्वान गरेको हो ।

शान्ति–प्रक्रिया टुंगोमा पुगी नसकेको, माओवादी द्वन्द्वका मुद्दा, सत्यनिरुपण तथा मेलमिलाप आयोगको काम नटुंग्गिएका समयमा वाम तालमेल अनुचित भएको निष्कर्ष कांग्रेसको छ । माओवादी केन्द्र नेकपा एमालेमा मिसिएकाले शान्ति पक्षधर माओवादीतर्फको वारिस पुष्पकमल दाहाल हुने वा केपी शर्मा ओली हुने भन्ने समस्या सिर्जना भएको बैठकपछि कांग्रेस नेता महेश आचार्यले बताए ।

बैठकमा नेपाली कांग्रेसको सांगठनिक सुदृढीकरणको विषयमा पनि छलफल भएको छ । कांग्रेसले यही २५ गतेभित्र सबै उम्मेदवारको टुंगो लगाइसक्ने निर्णय गरेको छ । त्यसका लागि उम्मेदवार छनोटको मापदन्ड तयार गर्ने नेता आचार्यले जानकारी दिए । एमाले–माओवादी गठबन्धन बनेपछि कांग्रेसले पनि अरु पाँच दललाई साथ लिएर लोकतान्त्रिक गठबन्धन बनाएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !