१४ बैशाख २०८१, शुक्रबार

अबको बजेटमा पुर्ननिर्माण प्राधिकरणलाई डेढ खर्ब छुट्याउनुपर्छ : सिईओ भुषाल


youbaraj bhushal

३ जेठ, काठमाण्डौ । राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणका कार्यकारी प्रमुख (सिईओ) युवराज भुषालले भुकम्प पीडितको लागि काम गर्नको लागि आगामी वर्षको बजेटमा प्राधिकरणलाई थप डेढ खर्ब बजेट आवश्यक रहेकोले सोही बमोजिम विनियोजन गर्न सरकारसमक्ष माँग गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै कार्यकारी प्रमुख भुषालले यस्तो बताएका हुन् । उनले भने,‘आगामी वर्षको बजेटमा प्राधिकरणलाई कम्तिमा डेढ खर्ब बजेट विनियोजन हुनुपर्छ, नीजी आवासको पूर्ननिर्माण गर्नुपर्छ, र जोखिमयुक्त वस्ती स्थानान्तरण गर्नुपर्नेछ।’ उनले बजेट वितरणमुखी बनाउन नहुने भन्दै आगामी बजेट उत्पादनमुखी, रोजगारमुखी र सिपमूलक बनाउनतिर जोड दिनुपर्ने बताए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले पछिल्लो समय मुलुकमा अनौपचारिक अर्थतन्त्र मौलाएकोले बजेट ल्याउँदा रियलिष्टिक भएर ल्याउनुपर्नेपनि बताए । बजेटमा नयाँ–नयाँ कार्यक्रम ल्याउनुभन्दापनि भएका कार्यक्रम र परियोजनाहरुलाई सम्पन्न गर्नेगरि अगाडि बढ्न सरकारलाई उनको सुझाव छ ।

यो वर्षको आर्थिक बर्ष सकिन अब जम्मा दुई महिनामात्रै बाँकी रहेकोले अहिलेसम्म पुँजीगत खर्च आधा बाँकी नै रहेको सुनाउँदै उनले भने,‘अहिलेको सरकार दुई तिहाईभन्दा बढिको सरकार हो, सरकार ५ वर्षको लागि स्थायी प्रकृतिको छ, सोही अनुसार वस्तुनिष्ठ भएर बजेट ल्याउनुपर्छ ।’

उनले संघीयता कार्यान्वयनको चरणमा सरकार अघि बढ्नुपर्ने भएकोले स्थानीय तहलाई रकममात्रै दिएर नहुने बरु स्थानीय तहलाई क्षमता विकास गराउनतिर लाग्नुपर्ने सुझाव दिए । उनले भने,‘स्थानीय तहमा जाने कार्यक्रमहरुको कार्यान्वयनको जिम्मा स्थानीय तहलाई नै दिनुपर्छ।’ त्यस्तै उनले आर्थिक अनुशासन कायम गर्दै आफूले जति गर्न सक्ने हो त्यति नै गर्नेगरि बजेट ल्याउन सुझाए ।
भुषालले १५ खर्बभन्दा बढिको बजेट ल्याउन नहुने पनि धारणा राखे । उनले भने,‘बाहिरबाट सहयोग, अनुदान वा ऋण आउँछ कि भनेर भर पर्नुहुँदैन्, हामीले नेपालको वस्तुनिष्ठ भएर बजेट ल्याउनुपर्छ ।’

सरकारले निजी क्षेत्रलाई प्रर्वद्धन गर्नेगरि बजेट ल्याउनुपर्ने पनि उनको भनाई छ । उनले भने,‘सरकारले सहजकर्ता, नियमनकर्ता र व्यवस्थापकको काम गर्नुपर्छ।’ बजेट ल्याउँदा कृषि क्षेत्रलाई विशेष ध्यान दिन सरकारलाई उनको सुझाव छ ।
बजेट कार्यान्वयनको लागि सरकारले कार्यान्वयनको योजना र कार्यक्रमहरु बनाउनुपर्ने पनि उनले बताए । उनले भने,‘हाम्रो केन्द्रिय अनुगमन फितलो भयो, औपचारिकतामा मात्रै सिमित हुन भएन, सिंहदरबारभित्र अहिले गाडीहरु उपयोगविहीन भएर बसेका छन्, फर्निचरहरु प्रयोगविहीन छन्, त्यसलाई मर्मतसम्भार गरेर चलाउन सकिन्छ नि ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !