१४ बैशाख २०८१, शुक्रबार

क्रोएसिया नक अाउट प्रवेश, उपाधि दावेदार अर्जेन्टिना बाहिरिने खतरामा


Rakitic

८ असार, काठमाडौँ । विश्वकप फुटबल अन्तरगत अर्जेन्टिना विश्वकपको समूह डी अन्तर्गतको विहीबार राति भएको खेलमा क्रोएसियासँग पराजित भएको छ ।

यो हारले लियोनल मेस्सीको टोली अर्जेन्टिनाको नकआउट चरणको यात्रा कठिन बनेको छ । तर, क्रोएसिया भने यो समूहबाट नकआउट चरणमा पुगेको छ ।

अर्जेन्टिनाले निज्नी नोभोगाड रंगशालामा बिहीबार राति निक्कै कमजोर प्रदर्शन गर्यो ।

यो खेलमा क्रोएसियाविरुद्धको अर्जेन्टिनाको प्रदर्शन बिर्सनलायक रह्यो । उपाधि दावेदार अर्जेन्टिना क्रोएसियासँग ३–० गोलले पराजित भयो । उसका लागि रेविक, राकिटिक र मोड्रिकले एक एक गोल गरे ।

खेलमा बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सी पूरै असफल देखिए भने पहिलो हाफ बराबरी रह्यो । तर दोस्रो हाफको सुरुमै क्रोएसियाले अग्रता लियो ।

गोलरक्षक विली कावालेरोको गम्भीर गल्तीमा अर्जेन्टिनाले गोल खान पुगेको हो । ब्याकपास कलेक्ट गरेर डिफेण्डरलाई पास गर्न लाग्दा उनले क्रोएसियाका एन्टे रेविकलाई पास दिन पुगेका थिए ।

रेविकले त्यसलार्इ शानदार भली गोलमार्फत टोलीलाई अग्रता दिलाए ।

८१औं मिनेमा क्रोएसियाका कप्तान लुका मोड्रिकले डिबक्स बाहिरबाट सुन्दर गोल प्रहार गरे । यसपटक मोड्रिकले अर्जेन्टिनाको रक्षापंक्तिको कमजोरीको फाइदा उठाएका थिए ।

खेलको इन्ज्यूरी समयको पहिलो मिनेटमा मिडफिल्डर इभान राकिटिकले बार्सिलोनाका आफ्ना टिममेट मेस्सीको टिमिवरुद्ध तेस्रो तथा विजयी गोल गरे ।

जितसँगै क्रोएसियाको ६ अंक भएको छ भने उसले नकआउट चरणको यात्रा पक्का परेको छ ।

समूह डीमा २ खेलबाट अर्जेन्टिनाको १ अंक छ । आइसल्याण्डको १ अंक छ र नाइजेरिया अंकबिहिन छ ।

शुक्रबार नाइजेरिया र आइसल्याण्डबीचको खेलले अर्जेन्टिनाको भविष्य निर्धारण गर्नेछ । त्यतिले मात्र पुग्दैन समूहको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियालाई हराउनैपर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !