१४ बैशाख २०८१, शुक्रबार

पहिलो चरणको निर्वाचन मंसिर १० : ३२ जिल्लामा मौन अवधि


७ मंसिर, काठमाडौं ।  पहिलो चरणको निर्वाचन मंसिर १० गते ३२ जिल्लामा हुँदैछ। मौन अवधि लागू भएपछि चुनाव प्रचार प्रसार गर्न पाइँदैन । निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यम समेत कुनैपनि प्रकारका चुनावी प्रचार-प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

ढकालका अनुसार एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत् समेत मत माग्न र निर्वाचन प्रचार-प्रसार गर्न पाइँदैन । आयोगका प्रवक्ता ढकालले भने, ‘मौनअवधिको पालना नगरेमा एक लाख रुपैयाँ जरिवाना, उम्मेदवारी रद्द एवम् कसुर अनुसार अन्य प्रचलित कानुनअनुसार कारबाही हुन्छ । उनले अघि भने, ‘आचारसंहिता नैतिकको कुरा हो, त्यसैले सबैले पालना गर्नुहुन्छ भन्ने विश्वास छ ।’

पहिलो चरणको निर्वाचनका लागि मौनअवधि लागू भइरहँदा दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा भने प्रसार-प्रसार गर्न पाइने छ । तर, राष्ट्रिय सञ्चार माध्यमहरुलाई भने दोस्रो चरणको चुनावका लागि पनि आचार संहिता लाग्ने ढकालले बताए । मौनअवधिमा सञ्चार माध्यमहरूबाट प्रकाशन तथा प्रसारण गरिने समाचारजन्य सामग्रीबाट मतदातालाई समेत प्रभाव पर्ने भएकाले सो अवधिमा निर्वाचन आचारसंहिताविपरीत हुने कुनैपनि प्रकारका सामग्री प्रकाशन तथा प्रशारण नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

निर्वाचन आचारसंहितामा मौनअवधिमा निर्वाचन प्रचार-प्रसार गर्न र मत माग्न नहुने, मौनअवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ-आफ्ना निर्वाचन चिहृन तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने छ ।  मौनअवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचार-प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने पक्षलाई हेक्का राख्न निर्वाचन आयोगले सबै सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !