६ जेष्ठ २०८१, आइतबार

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न विकसित मुलुकले सहयोग गर्नुपर्छ : उपाध्यक्ष कँडेल


pushpa-kandel

११ साउन, काठमाडौँ ।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्प कँडेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न विकसित मुलुकले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले तयार गरेको ‘नेपालमा जलवायु वित्त सुशासनको अवस्था’ सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै उहाँले विकसित मुलुकले सिर्जना गरेको वातावरणीय परिवर्तनका विषयले समस्या निम्त्याएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विकसित मुलुकले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न विकासोन्मुख मुलुकलाई सहयोग गर्न प्रतिबद्धता जनाएको सहायता रकम उपलब्ध गराउनुपर्छ, यसबाट परेका असरबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा गम्भीरतापूर्वक आवाज उठाउनुपर्ने आवश्यकता छ ।”

उपाध्यक्ष प्राडा कँडेलले जलवायु परिवर्तनको मुद्दालाई आयोगले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै यससम्बन्धी विषयलाई पन्ध्रौँ योजनामा समावेश गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आयोगले मुलुकको दीर्घकालीन सोच निर्माण, स्थानीय तह, प्रदेश र संघबीच समन्वय गरेर आयोगको कामलाई प्रभावकारी बनाउने तयारी गरिरहेको जानकारी उहाँले दिनुभयो ।

अध्ययन प्रतिवेदनमाथि टिप्पणी गर्दै नेपाल ल क्याम्पसका प्राडा विजयसिंह सिजापतिले जलवायु परिवर्तनबाट पर्न सक्ने असरबारे नेपालले अन्तर्राष्ट्रिय समुदायसँग गरेका सन्धि, सम्झौता कार्यान्वयनका पक्षबारे प्रतिवेदनमा उल्लेख नगरिएको बताउनुभयो ।

प्रतिवेदनले संघीय संरचनाअनुसार जलवायु परिवर्तनसम्बन्धी नीति परिमार्जन गर्न, जलवायु परिवर्तनबाट हुने क्षति तल्लो तहमा बढी हुने भएकाले सोही क्षेत्रमा लगानी बढाउन र संस्थागत संरचना बनाउन पनि उहाँले सुझाउ दिनुभयो ।

टिआई नेपालका महासचिव पद्मिनी प्रधानाङ्गले भ्रष्टाचारका कारण मानव समुदायमा पर्ने गम्भीर नकारात्मक प्रभाव न्यूनीकरण गर्न र भ्रष्टाचार नियन्त्रणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट हुने सबै प्रकारका प्रयासहरुमा सहभागिता जनाउने लगायत विविध कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !