७ पुस २०८१, आइतबार

धादिङको सुन्दर पर्यटकीय गन्तव्य रुवी भ्याली


रुवी भ्याली *

पृष्ठभूमि : धादिङ जिल्लाको रुवी भ्याली प्याल्दोर हिमालको आधार शिविर हो । यो त्रिशूलीबाट रसुवाको स्याफ्रुबेंसी हुदैं १०५ किमि सोमदाङसम्म सडकयात्रा गरेर फर्किन सकिने पर्यटकीय गन्तव्य हो ।

परिचय

लापा, सेर्तुङ र तिप्लिङ ३ गाविसलाई समाहित गरी रुवी भ्याली गाउँपालिका नामकरण भइसकेको छ । यस स्थानमै फरक ८ वटा गन्तव्य छन् । ‘छोटोमा ५ दिनदेखि लामोमा २१ दिनसम्म पर्यटन गर्न सकिने यो भ्यालीमा पर्वतीय, सांस्कृतिक, धार्मिक र पर्या–पर्यटनको सम्भावना छ । प्रशस्त्र पर्यटकिय सम्भावना रहेर पनि भौगोलिक विकटताको कारण पछाडी परेको रुवी भ्यालीलाई पर्यटकिय बजारमा चिनाउन थालिएसँगै संरक्षित क्षेत्र बनाउने अभियान सुरु गरिएको छ । धादिङको रुवी भ्याली रसुवाको लामटाङ र गोरखाको मनास्लु पदमार्ग जत्तिकै रमणीय छ । लामटाङ र मनास्लुमा जे जे पाइन्छन्, ती सबै रुवी भ्यालीमा पनि छन् ।

धार्मिक तथा सांस्कृतिक महत्व

५ सय वर्ष पुराना बौद्ध गुम्बा र ३ सय वर्ष पुराना मठमन्दिरहरू रहेको यस भ्यालीमा मेन्हदोमाया लोकसंस्कृति, झाँक्री नाच, लामा नाच, घोडा नाच आदिले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको छ ।

प्राकृतिक सौन्दर्य

रेडपान्डा लगायतका जलचर, जङ्गली जनावर, लोपोन्मुख वन्यजन्तु, हिमाल, ताल तलैया, वास बस्नयोग्य होमस्टेसहितका मनोरम बस्ती, खोलानाला, नदी, सुनपाते सहितका १४ थरीका गुराँस रुवी भ्यालीका आकर्षण हुन् ।

पर्यटकिय महत्व

जलचर, जङ्गली जनावर र धार्मिक पर्यटनका दृष्टिले यो पदमार्ग महत्वपूर्ण रहेको छ । यस पदमार्गमा पाँच दिन चार रातको भ्रमण प्याकेज तय गर्न सकिन्छ । ५ सय वर्ष पुराना बौद्ध गुम्बा र ३ सय वर्ष पुराना मठमन्दिरहरू रहेको यस भ्यालीमा मेन्हदोमाया लोक संस्कृति, झाँक्री नाच, लामा नाच, घोडा नाच लगायतले पर्यटकलाई लोभ्याउन सक्छ ।

पदमार्गमा त्रिपुरेस्वरको आँखु खोलामा निर्माण भएको हाइड्रो पावरबाट बनेको नेत्रताल, बगुवा खोलामा निर्माण भएको पानीघट्टा, कात्तिकेको डोकानाम्ला बोकेर घाँसदाउरा गर्दै गरेका ग्रामीण परिवेश, परम्परागत फलामका सामान बनाउँदै गरेका आरन, फूलखर्कबाट देखिने सूर्योदय, मनटारीको जङ्गलमा बनेको मनटारी स्काइ क्याम्प, पोखरा बस्तीको गुरुङ जातिको नाच अवलोकन गर्न सकिने भएकोले यो पर्यटकिय हिसावले महत्वपुर्ण छ ।

पर्यटन प्रर्वद्धन

यो पदमार्गलाई गणेश हिमाल पर्यटन विकास समितिको सहकार्यमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले सन २०१२ देखि २०१४ सम्म सर्वेक्षण तथा प्रवद्र्धन गरेको हो ।

पर्यटकीय सम्भावना

धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने रुवी भ्याली क्षेत्र अन्तर्गत हिमालयन स्काइ ट्रेल (तीनसुरे पदमार्ग) सञ्चालनमा आएको छ । उक्त पदमार्ग सञ्चालनमा आएपछि राजधानीबाट नुवाकोट, रसुवा हुँदै धादिङका बस्तीहरुमा घुमेर गोरखा जान सहज हुनेछ । पर्यटकीय पदमार्गबाट आकाश र जमिनको विशेषता नजिकबाट नियाल्न सकिने भएकाले यसलाई ‘स्काइ ट्रेल’ समेत भनिएको हो । धादिङको उत्तरी क्षेत्रमा पर्ने समुन्द्री सतहदेखि एक हजार ५ सय फिटको उचाइमा रहेको नेत्रतालदेखि झन्डै ११ हजार उचाइमा रहेको तीनसुरे भञ्ज्याङसम्म झन्डै ५० किलोमिटर दूरीमा उक्त पर्यटकीय पदमार्ग निर्माण भएको हो । यो विकासले पर्यटकीय सम्भावनालाइ दरिलो बनाएको छ ।

कसरी पुग्ने?

त्रिशूलीबाट रसुवाको स्याफ्रुबेंसी हुदैं यहाँ पुग्न सकिन्छ ।

यो पनि पढ्नुहोस्  

रसुवा जिल्लाको ऐतिहासिक पर्यटकीय गन्तव्य रसुवागढी

नुवाकोटको धार्मिक पर्यटकीय स्थल दुप्चेश्वर महादेव


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !