पृष्ठभूमि : श्री ३ चन्द्र शमशेरले वि.स. १९७४ सालमा वन फँडानी गरी यस क्षेत्रमा बस्ती बसाउने क्रममा नाढीमन यो ताल पत्ता लागेको स्थानीय बासीको भनाई रहेको छ । ५२ बिघा क्षेत्रफलमा रहेको अव्यस्थित ताललाई नेपाली सेनाले राष्ट्रपति चुरे संरक्षण विकास कार्यक्रम अन्तर्गत तालको रुपमा २०७२ साल चैत्र २४ गते परिणत गरेको थियो । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तब्यहरुमा सर्लाही जिल्लाको नाढीमन ताललाई छनोट गरेको हो ।
परिचय
नाढीमन ताल सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका-६,७ स्थित सुन्दर प्राकृतिक, ऐतिहासिक धरोहर र मनोरम स्थल मध्येको एक हो । सदरमुकाम मलंगवा र पुर्व–पश्चिम राजमार्गको फुलजोरबाट १२ किलोमिटरको बराबरी दुरीमा रहेको यो ताल निकै नै सुन्दर र रमणीय छ । यस भेगका बासिन्दाहरुले नाढीमन ताललाई ५२ बिगहा पोखरीको नामले पनि चिन्ने गरेका छन् ।
तालको किनारमा रहेको मानेश्वर महादेव मन्दिरदेखि तालसम्म भित्रैभित्रै सुरुंग समेत रहेको विश्वास गरिन्छ । त्यहाँ भेटिएको शिवलिंग पनि सयौं वर्ष पुरानो रहेको स्थानीयहरु बताउँछन् । यो मानव निर्मित नभइ प्राकृतिक ताल हो । तराई मधेसमा धेरै ताल र पोखरीहरु रहेपनि यति ठुलो क्षेत्रफलको अथवा यो भन्दा ठुलो अरु कुनै ताल नरहेको मानिन्छ । यो तालको परिक्रमा गर्न र तालमा खेलिरहने माछालाई हेर्नको लागि मोटरबोटको समेत व्यवस्था गरिएको छ ।
ऐतिहासिक तथा पौराणिक मान्यताहरु
एक जनश्रुतिका अनुसार पौराणिक कालमा महाभारतको युद्ध हुनु अघि पाण्डवहरुले वनबासी जीवन व्यतीत गरिरहेको अवस्थामा जेष्ठ पाण्डव पुत्र धर्मराज युधिष्ठिरले आफ्ना अनुजहरु नकुल र सहदेवलाई यसै दहबाट पानी ल्याउन भनि अर्हाएका थिए । पछि पाण्डव र कौरवहरुको युद्ध पश्चात् इतिहासकारहरुले उक्त दहको खोजतलास गरेका थिए तर विफल रहे । यहाँका बुढापाखा तथा धार्मिक प्रवृत्तिका ब्यक्तिहरु यो नाढी ताल नै यक्षदह हुनुपर्दछ भनि भन्ने गरेका छन् ।
यसैगरी अर्को किंवदन्ती अनुसार यो ताल दानवले मुक्का हान्दा जमिन धस्न गई एकैरातमा उत्पत्ति भएको यहाँका बुढापाखाहरुले आफ्ना सन्ततिहरुलाई सुनाउने गर्छन भने अर्को एक जनश्रुति अनुसार आजभन्दा लगभग २ सय वर्ष अघि यो ताल एकदमै चर्चाको विषय रहेको थियो ।
यस तालको पश्चिमतर्फ उत्तर दक्षिणको सडक पर्दछ । जुन राष्ट्रिय राजमार्गदेखि सदरमुकाम मलंगवा र भारतको विहार राज्यसँग जोडिएको छ । त्यसताका यस बाटो भएर आवतजावत गर्नेहरु साँझ परेपछि यसै तालको पश्चिम पट्टी र मुल सडको पुर्वमा पर्ने विभिन्न फलफुलको बोटहरुले सिंगारिएको अती रमणिय बगैंचामा आश्रय लिने र तालबाट संवत्स्निस्कने सुन, चाँदी र विभिन्न धातुका भाँडाकुँडामा खाना पकाउने गर्थे भन्ने जनश्रुति रहेको यहाँका बुढापाखाहरुले बताएका छन् ।
पर्यटन प्रर्वद्धन
यस तालमा अंग्रेजी र नेपाली नयाँ वर्षको दिन पिकनिक मनाउन, घुमघाम गर्न र बोटिंग गर्न आउनेहरुको धेरै नै भिड लाग्ने गरेको हुन्छ । यसलाई अझ व्यवस्थित र रात्रि बासको लागि होमस्टेको सुविधा उपलब्ध गराउन सकिए ताल घुम्न आउने आन्तरिक र बाहिरी पर्यटकहरुबाट राम्रो आम्दानी आर्जन गर्न सकिने देखिन्छ ।
पर्यटकिय सम्भावना
जिल्लाको चन्द्रनगर गाउँपालिकामा नाढी ताल छ । जसको क्षेत्रफल र वरपरको वातावरणले त्यो आन्तरिक र वाह्य पर्यटनको क्षेत्र बन्न सक्छ । संरक्षण गर्न सूरु गरेपछि तालमा आन्तरिक पर्यटकहरु बढ्न थालेका थिए । यस तालको विकासको लागि गुरुयोजना बनाएर त्यसक्षेत्रको विकास गर्ने र तालको संरक्षण गरेमा ठुलो पर्यटनको विकास गर्न सकिने सम्भावना देखिन्छ ।
समस्याहरु
कुनै बेला ५२ बिगहा क्षेत्रफलमा फैलिएको उक्त ताल संरक्षणको अभाव र स्थानीयहरुको अतिक्रमणका कारण ३२ बिगहामा मात्र खुम्चिएको छ भने जलशय क्षेत्र २९ बिगहामा सिमित हुन पुगेको छ । नाढीमन ताल स्थानीय जनताको दिशा वस्ने चर्पी बनेको छ । त्यस तालमा माछापालन गरेर लाखौंको आम्दानी हुन्छ । तर आम्दानी अनुसार न त ताल वरपरको क्षेत्रको विकास भएको छ । तालबाट मनपरी रुपमा माछा निकालिँदा ताल कुरुप बनेको छ ।
यो पनि पढ्नुहोस्
धनुषाको ऐतिहासिक धार्मिक स्थल मणि मण्डप
महोत्तरीको प्रसिद्ध धार्मिक तीर्थस्थल जलेश्वर महादेव