१० जेष्ठ २०८१, बिहिबार

सडकले मुहार फेरेको बागलुङको बरेङ


बागलुङको बरेङ तस्वीर सौजन्य : डम्मर बुढा मगर

गलकोट । तीन दिन हिँडेर बागलुङको बरेङ गाउँपालिकाबाट कयौँ पटक बुटवल पुगेका बरेङ गाउँपालिका–२ का केशरबहादुर बर्मा अहिले गाउँमै बुटवलबाट जीप आउँदा दङ्ग परे ।

बागलुङको दक्षिण क्षेत्र बरेङ बुटवलँंग सिधा सम्पर्कमा प्रशासनिक काम बाहेक किनमेल र औषधि उपचारका लागि पाल्पा हुँदै बुटवलसम्म हुन्छ । विसं २०६३ सालतिर बरेङमा पहिलो पटक सवारी आएको बर्माको स्मरणमा छ । बर्माले तीन दिन हिँडेर पुग्ने बुटवल अहिले आधा दिनमै पुग्न सकिने बताउँदै सडक सञ्जालका कारण बरेङको जनजीवनले मुहारै फेरेको बताए ।

“प्रशासनिक काम गर्न मात्रै बागलुङ बजार जान्छौँं, अन्य कामका लागि सदरमुकाम बागलुङ बजार पुग्ने समयमा बुटवल पुगिन्छ” बर्माले भने, “यहाँका अधिकांशको बसाइँसराइसमेत उस्तै हुन्छ, अहिले दैनिक तीनवटा जीप बरेङ आउछन् ।”

शान्तिपुरसम्म बाटो पक्की छ, त्यहाँबाट बुटवल सम्म बससमेत चल्ने गरेका छन् । सडकका कारण दुर्गम मानिएको बरेङ गाउँपालिका विस्तारै सुगम बन्दै गएको छ । बर्माले सडकका कारण ७५ वर्षको उमेरमा भए पनि यहाँको विकास हेर्न पाइएको बताए । सडक सञ्जालका कारण बरेङक्षेत्रमा बाक्ला घरसमेत निर्माण भइरहेका छन् ।

बरेङबाट बागलुङ जिल्ला सदरमुकाम आउन झण्डै पाँच घण्टा लाग्छ भने सोही समयमा बरेङबाट बुटवल पुग्न सकिने स्थानीय होमबहादुर थापाले बताए । उनका अनुसार सडकको सहज पहुँचका कारण गाउँमै सहरको सेवा सुविधा उपभोग गर्न पाएको बताए ।

गुल्मीको शान्तिपुरबाट बरेङ आउन निकै सहज भएको बताउँदै अब सडक कालोपत्र गर्न सके झनै यात्रा छोटिने बताए । बागलुङ सदरमुकाबाट बरेङ पुग्ने सबै सडक कच्ची भएका कारण जिल्ला सदरमुकाम पुग्न भन्दा बरेङका बासिन्दालाई बुटवल पुग्न सहज हुने थापाले बताए ।

“१० वर्ष अघिसम्म बुटवल हुँदै भारी बोकेर सामान गाउँमा ल्याइन्थ्यो, अहिले गाउँगाउँमा सडक पुगेका छन्, बुटवलबाट चार पाँच घण्टामै जीप बरेङ आइपुग्छ” थापाले भने, “बागलुङको दुर्गम गाउँपालिकामा मानिने बरेङ गाउँपालिका सडक सञ्जालका कारण सुगम बन्दै गएको छ भने विकास निर्माणले तीव्रता पाएको छ ।”

थापाका अनुसार बरेङमा सडकको पहुँचसँगै खानेपानीको समेत व्यवस्थापन हुँदा अहिले गाउँमै विकासको अनुभव भएको थापाको भनाइ छ । अहिले बरेङ गाउँपालिकाको केन्द्रमा बजार विस्तार भइरहेको छ ।

बरेङ बजार सुधारका लागि समेत पालिकाले बर्सेनि बजेट खर्च गर्दै आएको बरेङ गाउँपालिकाले जनाएको छ । बरेङ गाउँपालिकामा जिल्ला सदरमुकाम बागलुङ बजारबाट भन्दा बुटवल र पाल्पाबाट धेरै सवारीसाधान आउने बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए ।

“बरेङमा सडकले सेवा सुविधा थपिएको छ, बसाइँसराइ त रोकिएको छैन तर यहाँका मानिसले दैलोमै सेवा सुविधा पाएका छन्, पालिकाले धेरै सडक सुधार गर्दै आएको छ, हामीले शान्तिपुरदेखि बरेङसम्म सडक कालोपत्र गर्ने योजना बनाएका छौंँ”,शर्माले भने,“बरेङ गाउँपालिका जिल्ला सदरमुकामबाट टाढा र दुर्गम भए पनि सेवा सुविधाका लागि बुटवलको सिधा यातायातले सुगम बन्दै गएको छ ।”

बरेङ गाउँपालिकामा सडकको सहज पुहँच विस्तारका लागि समेत बर्सेनि पालिकाले ठूलो बजेट लगानी गर्दै आएको शर्माको भनाइ छ । शर्माका अनुसार गाउँपालिकाले आफ्नो बजेटबाट सडकको सुधार गर्न नाली निर्माण गर्ने, सडक हेरालु राख्ने तथा मर्मत सम्भार गरिराखेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !