१२ बैशाख २०८१, बुधबार

नेपाल भारतको सीमावर्ती इलामको जौबारी बजारको चहलपहल घट्यो


जौबारी बजार

मङ्गलबारे । इलाम सन्दकपुर गाउँपालिकाका–३ का कोषराज खतिवडा एक दशक अघिसम्म यो मौसममा मटरको हरियो कोषा बोकेर जौबारी बजार गइन्थ्यो । मटरको हरियो कोषा बेचेर त्यहाँबाट खाद्यान्न किनेर ल्याउथे ।

हरियो मटर कोषा बेचेर खाद्यान्न ल्याउने उनी मात्र हैन । त्यस क्षेत्रका धेरै स्थानीयवासीको गुजारा त्यसैगरी बित्थ्यो । उत्पादित वस्तु जौबारी बजार पुर्याउने र दैनिक उपभोग्य वस्तु नेपाल भित्रियाउने । जौबारी नेपाल भारतको सीमावर्ती बजार हो । सीमावर्ती बजार भएपनि त्यहाँ अधिकांश व्यापारी भारतीय नै हुन्थ्ये । त्यस बजारमा नेपालमा उत्पादित वस्तुको मूल्य बढी पर्ने गरेको सन्दकपुर गाउँपालिकाका किसान खतिवडाको भनाइ छ ।

विशेष गरेर अलैँची, कुचो, अदुवालगायतका वस्तु सो बजारमा महँगो मूल्यमा बिक्ने गरेको थियो । त्यस्तै नेपालीहरुका घरमा उपभोग गर्ने चिनी, तेल, नुन र चामल पनि सस्तो मूल्यमा पाइने गरेको थियो । सस्तो मूल्यमा उपभोग्य वस्तु पाइने भएकाले हालको सन्दकपुर गाउँपालिका मात्र नभइ, माइजोगमाई गाउँपालिकाका अधिकांश किसानको मुख्य बजार नै जौबारी रहेको थियो । इलाम नगरपालिकाको पनि पायक पर्ने स्थानका उपभोक्ता सोही बजारमाथि भर पर्ने गरेका थिए ।

जौबारी बजार जिल्लाकै फस्टाएको बजारका रुपमा परिचित थियो । भारतीय सिमासँग जोडिएका कारण किसानले सयंै खालका सामान खरिद बिक्री गर्ने केन्द्रको रुपमा नै विकसित भएको थियो, जौबारी बजार । भारतीय व्यापारीको बाक्लो बसोबास भएकाले नेपाली गाउँघरमा उत्पादित कृषि बाली सजिलै भारतीय बजारसम्म जाने गर्दथ्र्यो ।

इलामको सन्दकपुर गाउँपालिकामा पर्ने जौबारी भारतीय सीमा जोडिएकोले विभिन्न प्राकृतिक सुन्दरतासँगै आफैँमा पनि पर्यटनको धेरै सम्भावना बोकेकोे ठाउँ हो । हिउँदमा प्रायः हिउँ परिरहने र चौरी क्षेत्रसमेत भएको हुँदा भारतलगायत अन्य देशका विदेशी पर्यटक दार्जिलिङ हुँदै जौबारी नघुमी फर्कदैन थिए ।

इलाम सदरमुकामको बिब्ल्याँटे बजार र माइजोगमाई गाउँपालिकाको नयाँ बजारमा भन्दा बढी चहलपहल र ठूलो बजारको रुपमा रहेको थियो, जौबारी । त्यसैले पनि सबै जौबारी जानैपर्ने बाध्यता जस्तै भएको सन्दकपुर गाउँपालिका-३ का सन्तोष खतिवडाको भनाइ छ ।

त्यसो त हिउँदको समयमा गाउँघरमा गाडी पुग्ने ठाउँसम्म आफैं किसानले मागेको उपभोग्य सामान लिएर व्यापारी आउने र किसानले उत्पादन गरेको सरसमान लिएर जाने गर्ने गरेको नेपाल पत्रकार महासङ्घ इलामका अध्यक्ष विप्लव भट्टराईले बताए ।

हाल इलाम सदरमुकाममा बसेर पत्रकारिता गर्ने भट्टराई सोही क्षेत्रका स्थानीयवासी पनि हुन् । उनले जान्दा जौबारी बाहेक अन्य स्थानमा बजार भनेर जानु पर्दैनथ्यो । पछिल्लो समय सडकको सुगमतासँगै धेरै ठाउँमा बजार विस्तार हुन थालेपछि जौबारी बजार व्यापारका हिसाबमा इतिहासमा सीमित बन्ने पक्का जस्तै भएको छ ।

पछिल्लो समय निकै ठूलो कारोबार हुने बजार खुम्चिँदै गएको छ । जिल्लाको सन्दकपुर गाउँपालिका र माईजोगमाईको प्रमुख बजारका रुपमा परिचित जौबारी हाल सुनसान जस्तै बनेको छ । व्यापार फस्टाएकाले नेपालको छोटी भन्सार पनि त्यो समयमा राखिएको थियो । यसरी जौबारी व्यापारी केन्द्रको रुपमा राम्ररी फस्टाउँदै गएको समयमा नेपालको १० वर्षे सशत्र द्वन्द्वले जौबारीलाई पनि अछुतो राख्न सकेन ।

भएको प्रहरीचौकी पनि सुरक्षाको कारण देखाउँदै सदरमुकाम तानिएपछि भारतीय व्यापारीले दिनगन्ती गन्दै जौबारी छोड्न थाले । हुन त सो क्षेत्रका सशस्त्र प्रहरीको बिओपी स्थापना भइसकेको छ । तर बिओपी स्थापना हुँदैमा अब सो बजार स्थापना हुनसक्ने स्थितिमा नै छैन । त्यहाँ रहेको थोरै व्यापारी पनि किसानले आफूले उत्पादित सरसमान अन्तै लान थालेकाले भएको व्यापार चल्न छोडेको भन्दै आ–आफ्नै ठाउँ पलायन भएको बताइएको छ ।

हाल जौबारी प्रायः सुनसान रहेको स्थानीयवासी थुक्तेन नोर्बुलामाको भनाइ छ । उनले भारतीय व्यापारी विस्थापित भएपछि बजार सुनसान जस्तै भएको बताउनुभयो । सो बजारमा नेपाल तर्फबाट व्यापारीले समेत चासो नराखेपछि बजार सुनसान बन्दै गएको हो । सरकारी क्षेत्रबाट समेत सो क्षेत्रमा चहलपहलका लागि कुनै प्रयास नभएको उनले बताए ।

हुनत् जौबारीमा कृषि अनुसन्धान केन्द्रसमेत स्थापना भएको छ । यसरी दिनप्रतिदिन बजार सुनसान हुन थालेसँगै किसानले आफूले भने जस्तो आफ्नो समानको मूल्य पाउन छोडेपछि उत्पादित वस्तु त्यहाँ बिक्रीका लागि लान छोडेका छन् । विशेषत त्यस क्षेत्रका बासिन्दा कृषि क्षेत्रमा लागि परेका छन् ।

किसानले उत्पादन गरेको घीउ र छुर्पीसमेत त्यस बजारमा महँगो मूल्यमा बिक्री हुने गरेको थियो । जौबारीको चहलपहल घटेसँगै घीउ, छुर्पीले पनि बजार पाउन छाडेको छ । किसानले भारतका बजारमा पठाउने घीउ छुर्पीको समेत मूल्य कम पाउन थालेपछि त्यस बजारमा उत्पादित बस्तु लैजान छोडेको स्थानीयवासी दावा शेर्पाको भनाइ छ । किसानले घीउ छुर्पी तथा कृषि उपज बिक्री गरेर खाद्यान्न मात्र होइन, कपडालगायत अन्य सामग्रीसमेत ल्याउने गरेका थिए । तर हाल बजारमा सामान पनि छैन स्थानीय बजारमा किनमेल भनेर जाने गरेका पनि छैनन् ।

सीमा क्षेत्रमा रहेको जौबारी मात्र होइन, जिल्लामा सञ्चालित अन्य बजारको अवस्थासमेत उस्तै छ । जिल्लाको मानेभञ्ज्याङमासमेत उस्तै भीडभाड हुने गरेको थियो । इलामको भारततर्फ जाने मुख्य नाका मानिएको पशुपतिनगरमासमेत चहलपहल कमी नै भएको छ । तर यहाँ किनमेल नै ठप्प भएको भने हैन ।

व्यापारमा कमी आएपछि त्यहाँका व्यापारी विस्थापित हने खतरा बढेको छ । विशेष गरेर पशुपतिनगरमा हाल कपडाकै व्यापार बढी हुने गरेको छ । कपडा मात्र बेचेर बजार कायम रहिरहन नसक्ने व्यापारी पवि राईको भनाइ छ । उनले कहिले व्यापार नै नगरी बेलुका सटर तानेर हिँड्नु परेकोसमेत बताए । यो कोरोनापछि अझ व्यापार घटेको छ ।

पलायन हुन लागेका व्यापारीलाई थाम्न सरकारले विशेष प्याकेजका कार्यक्रम ल्याउनुपर्ने स्थानीयवासीको भनाइ छ । व्यापारीलाई सहुलियत दरमा ऋणको व्यवस्था मिलाउन सके पनि हदसम्म समस्याको समाधान हुने सो क्षेत्रका व्यापारीको भनाइ छ । सूर्योदय नगरपालिकास्थित उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईलेसमेत सो क्षेत्रमा चहलपहल बढाउन निजी क्षेत्रबाट मात्र सम्भव नभएकाले सरकारी निकायबाट पहल चाल्नुपर्नेमा जोड दिए ।

त्यस क्षेत्रका भारतीय व्यापारी भारत नै फर्किन थालेका छन् भने स्थानीय व्यापारी विर्तामोड, विराटनगर लगायत स्थानमा जान थालेको व्यापारीको भनाइ छ । स्थानीय सरकारले सहुलियतका कार्यक्रम ल्याउन सके पलायन हुनलागेका व्यापारी थामिने व्यवसायीको भनाइ छ । बैंकहरुसँग सहकार्य गरेरसमेत सो कार्यक्रम सञ्चालन हुनुपर्ने उनीहरुको भनाइ छ ।

कोभिड सुरुभएपछि सीमा क्षेत्रमा मात्र हैन, धेरै ठाउँमा यस्तै समस्या भएको व्यापारीको भनाइ छ । तर सीमा क्षेत्रमा कसैको आँखा नपुगेको सो क्षेत्रका व्यापारीको दुखेसो छ । कोरोना सङ्क्रमणको बढ्दो जोखिमका कारण यतिबेला भारतीय पर्यटकको भीड लाग्ने इलामका पशुपतिनगर, मानेभञ्ज्याङ, छब्बिसे, जौबारी, सन्दकपुरलगायत सीमावर्ती बजार र पर्यटकीयस्थल प्रायः सुनसान भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !