१३ बैशाख २०८१, बिहिबार

बैतडीको पाटनमा रहेको ऐतिहासिक धार्मिक स्थल सिद्धनाथ उदयदेव मन्दिर


सिद्धनाथ उदयदेव मन्दिर

पृष्ठभूमि : बैतडीको पाटन स्थित ब्रह्म उदयदेवताका मुख्य पुजारी स्थानीय उपाध्याय ब्राह्मण जोशीहरुबाट हुने गर्दछन् । त्यस्तै उपाध्याय ‘पैतोला’ र ‘भट्ट’ ब्राह्मणहरु सहायक पुजारीको रुपमा काम गर्दछन् । यस देवता मुख्य धामी चन्द ठकुरीहरुबाट हुन्छन् ।

पाटनस्थित मन्दिरमा यस देवताका मुख्य भण्डारे क्षेत्री भण्डारी थरबाट हुने गर्दछन् । त्यस्तै बिष्ट, कठायत, खत्री, भाट, धनाडी, ऐडी, यस देवताका अन्य आवश्यक काम गर्ने कार्यकर्ता भक्तहरु हुन् । विष्ट र कठायतहरु यस उदयदेव मन्दीर व्यवस्थापन समितिका सदस्य कार्यकर्ताको रुपमा पनि चिनिन्छन् ।

परिचय

उदयदेवको प्रमुख मन्दिर सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको पाटन नगरपालिका-६ मा रहेको संगौरकोटको ‘मैतड’ भन्ने स्थानमा अवस्थित छ । यो मन्दिर पनि बैतडी जिल्लाका प्रमुख दर्शनीय मन्दिरहरूमध्ये पर्दछ । यसका अलावा सुदूरपश्चिम नेपालका अन्य भागमा राजा उदयदेवका अरु मन्दिरहरु रहेका छन् । त्यस्तै भारतको हिमाञ्चलप्रदेश र उत्तराञ्चल राज्यका कैयौँ ठाउँहरुमा पनि उदयदेवका थुप्रै मन्दिरहरु रहेका छन् ।

यो पनि पढ्नुहोस् : सुदूरपश्चिम प्रदेशकै ठूलो तथा प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिर

उदयदेवका धामी पनि आफ्नो ‘बिँडी’ (देवताले बस्ने उच्च राज सिंहासन) मा बसेर काम्न प्रारम्भ गरेपछि उत्तर पर्वत शिखरमा अवस्थित् ‘राउला केदार’ मन्दिरबाट दिव्य ध्वनी आउँने गर्दछ । त्यो ध्वनी उदयदेवका धामीले मात्रै सुन्न सक्दछन् । त्यो शुभ सांकेतिक ध्वनी आएको सुनिएन भने उदयदेवका धामी काम्दैनन् र जात्रामा पनि जाँदैनन् भन्ने मान्यता रहिआएको छ ।

इतिहास

आजभन्दा लगभग ५००० वर्ष पहिले भारतको ऐतिहासिक सिन्धु सभ्यतामा ‘चन्द्र’ वंशीय राजाहरुको राज्य थियो । प्राचीन कालका ययाती, सन्तनु, कुरु, र भगवान श्री कृष्ण समेत ‘चन्द्र’ वंशका पुर्वजहरु मानिन्छन् । कालान्तरमा ‘चन्द्र’ शब्द अप्रभंस भएर ‘चन्द’ मा परिणत भयो । यसरी चन्द राजाहरु हाल पाकिस्तानको सिन्ध प्रान्तबाट भारतको हिमाञ्चल प्रदेश हुँदै उत्तराञ्चलमा पर्ने देवप्रयाग (दुबानगर) र कत्युरी हुँदै ‘स्वर’ भन्ने ठाउँमा पुगे र त्यहाँ आफ्नो राज्य स्थापित गरे ।

यो पनि पढ्नुहोस् : कंचनपुरको बन्दा ताल कोटीहोम धार्मिक पर्यटकीय क्षेत्र

त्यसै ‘स्वर’ भन्ने ठाउँमा तत्कालिन मुस्लीम शासकहरुको जवर्जस्ती धर्मान्तरणकृत्य सहन गर्न नसकेर महाकाली पार गर्दै नेपालको वैतडीमा प्रवेश गरेका हुनाले बैतडीको पाटनलाई ‘स्वराड’ भन्ने गरिएको हो । भारतको दुबानगरबाट चन्दराजासंगै यस ठाउँमा आएर बसोवास गर्नेहरुमा राईसम बिष्ट, तोयमेलोनायक, जर्गालभाट, जसुभणारी, बाममहतो, कुसमुसे औजी भट्टरीभाण, अनिचाड, अनिकठायत, कालुधनाडी र ब्रह्मा भाट थिए ।

अहिले ति सबै जातीहरु पाटन क्षेत्रका आदिवासी मानिन्छन् । चन्दहरुको राज्य विस्तार सँगै कालान्तरमा डोटी राज्यमा कीर्तिचन्द, जुम्लामा भागरथी चन्द, आछाममा छत्र चन्द, बझाङ्गमा रतनमणि चन्द, बर्दियामा छत्रविक्रम चन्द र कञ्चनपुरमा कञ्चनदेव चन्दले राज्य गरेको इतिहास पाइन्छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

उदयदेवको मुख्य पूजा चैत्र महिनामा पर्ने महाअष्टमीमा लाग्ने गर्दछ । त्यस्तै असोज महिनामा पर्ने नवरात्रमा पनि यहाँकी स्थानीय सात बहिनी दुर्गाहरु स्डिलासैनी, बोदलाशैनी, पोटलाशैनी, भगाशैनी, भरणशैनी, रणसैनी र निङ्गलासैनीको विधिवत् आवाहन र पूजा-आजा गरेर ब्राह्मणद्वारा सप्तशतीको पाठका साथै हवन पनि गराइन्छ ।

यो पनि पढ्नुहोस् : दक्षिण एशियाको दोस्रो लामो झोलुंगे पुल भएको चाँदनी-दोधारा क्षेत्र

मुख्य पूजा वा जात्रा हुँदा चारराठ, चन्द ठकुरीहरु, दशौनी विष्ट, भण्डारी, कठायत, ऐडी, त्यसै गरेर चार करिया थर भित्रपर्ने पहरी, भूल, दमाई, भाण इत्यादी सबै भक्तजनहरु आ-आफ्नो जिम्माको काम श्रद्घाभावले पुर्खौ देखी गर्दै आइरहेका छन् ।

दशौनी बिष्ट भनेका राजा जैतु चन्दका पालादेखी पाटन राज्यकोशको दशअंश मध्ये एक अंश भाग खानु भनी दिएको अधिकार क्षेत्रभित्र पर्न आउने विष्टहरु हुन् । आश्विन नवरात्रमा पर्ने पञ्चमीका दिन भक्तहरुले मन्दिरमा आफ्नो गच्छे अनुसारको चिनोवानो चढाउँछन् । धामी कामेर प्रसाद स्वरुप सबै भक्तहरुका निधारमा टिका लगाउँने गर्दछन् । महाअष्टमीका दिन बिहानै देखी बलीका निम्ती ल्याइएका राँगा, बोका र खसीहरु मन्दीर परिसरमा बाँधिन्छन् ।

सर्वप्रथम ल्याइएको राँगो कालो खाम भन्ने रुखमा बाँधिन्छ । कालोखाममा बाँधिने राँगोे चन्दहरुका चारराठ मध्येबाट क्रमै सँग पालै(पालो गरी ल्याईन्छ । त्यस दिन राती अवेरसम्म सुदूरपश्चिम नेपाल र भारतको पिथौरागढबाट पनि राँगाहरु आइ रहन्छन् । महाअष्टमीका रातीबाट नवमीका दिउसो ४ बजेसम्म यस क्षेत्रका ख्यातीप्राप्त डेउडाखेलका गीतेरुहरु लगायत सबै भक्तजनहरु विशेषतः‘साल्ली’ भन्ने ढपमा दोहोरी डेउडाखेल खेल्ने गर्दछन् ।

यो पनि पढ्नुहोस् : महाभारत काल भन्दा पनि पहिलेदेखि पवित्र तीर्थस्थल रहेको कैलालीको घोडाघोडी ताल

सन्तान नभएका महिलाहरु सन्तान प्राप्तिका लागी र सन्तान भएका महिलाहरु अन्य मनोकामना पूर्तिका लागि रातभरी एकैस्थानमा उभिएर आफ्ना दुबै हात संयुक्त गरी त्यसमा अखण्डदीप बाल्ने गर्दछन् । अष्टमीका राति ११ बजेबाट देवताको मुख्यपूजा सुरु हुन्छ । पूजा सकिएपछि सर्वप्रथम मन्दिर परिसरभित्रै रहेको कालीकाको स्थानमा बोका र खसीहरुको बलि चढाइने गरिन्छ । त्यसपछी सिद्घबाबा, महारुद्र, लोटने, कैलपाल, समैजी, मसानी, सिमडा लगायत सबै देवताका धामीहरु आ-आफ्नो रटन-खटन अनुसार काम्न सुरु गर्दछन् ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

सम्वत् १६०० तिर वैतडी जिल्लाको ‘स्वराड’ राज्यमा उदयदेव चन्दको जन्म भएको थियो । त्यतिबेला सुदूरपश्चिम नेपालका ‘स्वराड’ लगायत अधिकांश राज्यहरु जुम्ला राज्यका अधिनमा पर्दथे । पहिलेका चन्दराजाहरु महाकाली भगवतीलाई ईष्टदेवी र सिद्घनाथलाई कुलदेवता मान्ने गर्दथे । चन्द वंशावली अनुसार राजा विनयदेव चन्दका उदयदेव, रानादेव, भानादेव, र जगतदेव गरी चार छोराहरु थिए ।

यी चार भाईमध्ये जेठा उदयदेव ‘काली माता’ का अनन्य भक्त थिए । उनी बढी जसो माता काली र शिवको ध्यानमा लिन भइरहने गर्दथे । उनको ईच्छा र अभिरुची राज्य सञ्चालनतर्फ नभै ‘काली उपासना’ र सिद्घि प्राप्त गर्नेतर्फ बढि ध्यान केन्द्रित भएकोले गर्दा उनको राज्य साँघुरो र राज्यकाल छोटो हुन गएको थियो भन्ने किंवदन्ती छ ।

यो पनि पढ्नुहोस्  : सन्तान नभएका दम्पती पुत्रलाभको कामना गर्दै जाने डोटीको बडिकेदार

दुर्गा र कालीका उपासक उदयदेवले कैयौं प्रकारका दुर्लभ सिद्घिहरु समेत प्राप्त गरेका थिए भन्ने किंवदन्ती छ । एकदिन उनी पाटन नजिकै रहेको सुर्नया नदीको किनारमा पर्ने ‘तिप्तरे सिद्घ’को गुफामा ध्यान गर्न गए । त्यस पछि उनी दरबारमा फर्किएनन् । त्यहीं बाटै अलप भए । उनको खोजी गर्दै जाँदा उनी कतै नभेट्टीए पछि आकाशवाणी भयो “मेरोे अस्तित्व शिवशक्तिमा विलय भएको छ । महाकाली र सिद्घनाथको परिसर भित्रै पश्चिमपट्टी एउटा शिला छ त्यस शिलालाई उत्खनन गरी स्थापना गर्नु र त्यसैलाई मेरो स्वरुप मानी पूजा गर्नु ”। त्यसपछि आकाशवाणीबाट ईङ्गीत गरिएको ठाउँमा उत्खनन् गर्दा सो शिला पनि भेट्टियो । उक्त शिलालाइ त्यहीं नजिकैको स्थानमा स्थापना गरी सम्वत् १६६२ देखि नियमित पूजा-आजा चलाइएको इतिहास छ । जो हालसम्म निरन्तर रहिआएको छ ।

कसरी पुग्ने ?

कैलालीको धनगढी वा अत्तरियाबाट बस वा जिपमा डँडेलधुरासम्म आरामसंग ६ घण्टाको समयमा पुग्न सकिन्छ । त्यहाँबाट सुदुरपश्चिमका प्रायः सबै गन्तव्यका लागी आवश्यकता अनुसार भाडाका सवारी साधनहरु बस, जीप, कार सजिलै पाउँन सकिन्छ । रिजर्व जिपबाट बिहानै यात्रा सुरुगर्ने हो भने बैतडिको ऐतिहासिक उदयदेव मन्दिर, त्रिपुरासुन्दरी भगवती, जगन्नाथ मन्दिर, निङ्गलासैनी भगवती र राउला केदारको दर्शन गरी त्यसैदिन साँझ डडेलधुरा फर्किन सकिन्छ । साँझ डडेलधुराकै प्रसिद्घ उग्रतारा भगवतीको आरती दर्शन समेत गर्न सकिन्छ ।

ऐतिहासिक अमरगढी किल्ला डडेल्धुरा बजारको शिरानमा अवस्थित छ भने, महाभारत कथामा घटोत्कच भनेर उल्लेख गरिएका घटाल देवताको मन्दीर पनि डँडेलधुराबाट नजिकै आधा घण्टाको दुरीमा रहेको छ । यसरी बैतडीका ५ वटा र डँडेलधुराका २ गरि जम्मा ७ वटा धार्मिक गन्तव्यहरुको एकदिनमा अवलोकन भ्रमण गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस्  

डोटीमा अवस्थित साक्षत देवी शैलेश्वरी माताको मन्दिर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु