स्याङ्जाको ऐतिहासिक धार्मिक स्थल श्रवणकुमार समाधि क्षेत्र र अन्धाअन्धी दह Nepalpatra स्याङ्जाको ऐतिहासिक धार्मिक स्थल श्रवणकुमार समाधि क्षेत्र र अन्धाअन्धी दह
७ कार्तिक २०७८, आइतबार

स्याङ्जाको ऐतिहासिक धार्मिक स्थल श्रवणकुमार समाधि क्षेत्र र अन्धाअन्धी दह


श्रवणकुमार समाधि क्षेत्र र अन्धाअन्धी दह

पृष्ठभूमि : बाल्मीकि रामायणको अयोध्या खण्डमा उल्लेखित कहानी अनुसार अयोध्या नरेश दशरथले शिकार खेल्दा चलेको बाँण लागेर मृत्यु भएका मातृभक्त, पितृभक्त, अन्धाअन्धीका एकल, असल एवं ज्ञानी पुत्र श्रवणकुमारको समाधी स्थल यस क्षेत्रमा रहेको पौराणिक कहानीमा आधारित एक महत्वपूर्ण ऐतिहासिक स्थल हो ।

परिचय

स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका-२ चिलाउनेबासमा अन्धाअन्धी दह र वडा नं ३ मा श्रवणकुमार समाधि क्षेत्र रहेको छ । पानी भर्दा वाण लागि श्रवण कुमारको मृत्युभएको यो ठाउँलाई श्रवण कुमार समाधी क्षेत्रको नामले चिनिन्छ । यहाँ श्रवण कुमारले पानी भर्दा घोप्टो परेको मूर्ति, पानीको रङ्ग रातो र दशरथले वाण हान्न लुकेर बसेको पहरा समेत छ । उक्त स्थानमा हाल बाला चतुर्दशीमा ठुलो मेला लाग्ने गरेको छ । उक्त क्षेत्रमा मन्दिर समेत निर्माण गरिएको छ ।

श्रवणकुमारले नै उनीहरुलाई बोकेर नै तिर्थ ब्रत तथा धार्मिक स्थलहरु घुमाउने गर्दथे । घुम्ने क्रममा एकदिन उनीहरु एउटा ओडारमा वास बस्न पुगेका थिए । हाल त्यो ठाउँ आन्धा–अन्धी दहको ठीक माथि छ । जहाँका पत्थरहरुमा विभिन्न आकृतिहरु, छाप कोरिएको भटिन्छ । अन्धाअन्धी दहलाई स्याङ्जाको प्रसिद्ध नदी आँधीखोलाको मुहान मानिन्छ । परापुर्व कालमा अयोध्याका राजा दशरथका भन्जा श्रवणकुमारका माता र पिताहरु दुईवटै आँखा नदेख्ने थिए । उनीहरु एउटा छोरा श्रवणकुमारको साहरामा नै बाँचिरहेका थिए ।

महत्व

मातृभक्त, पितृभक्तको बिशेषणले सुशोभित आदर्श पात्र श्रवणकुमारलाई अयोध्या नरेश दशरथले चलाएको बाण लागि उनको शरीरोत्सर्ग (देहावसान) भएको श्रवणकुमार समाधी क्षेत्रले पनि उत्तिकै ऐतिहासिक र पौराणिक महत्व राख्दछ । यसैगरी अन्धाअन्धीको आँसुबाट बनेको अन्धाअन्धी दहबाट उदगम भई बालक श्रवणकुमारले गाग्रो डुबाएको बराहधाम पोखरी (कुवा) बाट उदगम भई बगेको सरादी खोलामा मिसिएर बगेको ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय महत्व बोकेको आँधीखोलाले पनि यस क्षेत्रको गरिमा बढाउनमा निकै महत्व पुर्याएको छ ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

श्रवणकुमार समाधि क्षेत्र तथा मन्दिर हिन्दु धर्मावलम्वीहरुको मोक्ष प्राप्तीका लागि अति नै महत्वपूर्ण धार्मिक स्थल हो । धार्मिक विश्वास अनुसार त्रेता युगमा नेपालको मुक्तिनाथ क्षेत्रका शान्तवन र अयोध्याका राजा ईच्छ्र्याकुलकी छोरी यज्ञवतीको विवाह भएका भन्ने धार्मिक विश्वास छ । विवाह भएको धेरै वर्ष सम्म पनि जाय जन्म नभएको हुदा ज्योतिषको सल्लाह अनुसार पति पत्नीले आँखादान गरे सन्तान हुन्छन भनेकोले दुवैले आखा दान गरेका र तत्पश्चात पुत्र पैदा भएको र पुत्रको नाम श्रवण कुमार राखेको भनाई छ । उक्त ठाँउमा आफ्नै भान्जाको हत्याको पापबाट मुक्ति पाउन राजा दशरथले आफ्ना गुरु वशिष्टबाट यज्ञ गराएको गोलाकार हवन कुण्ड स्थान अझै रहेको छ भने श्रवण कुमारको रगतबाट बनेको रक्त ताल र वराह थान पनि रहेको छ ।

इतिहास

त्रेतायुगमा श्रवण कुमार अयोध्याका राजा दशरथका भान्जा थिए । बाबु आमा वृद्ध भएको र आफुलाई पैदा गर्न दुवै आँखादान गरेकाले अन्धा थिए । यीनै अन्धा बाबुआमालाई चार धामको तिर्थ गराई मोक्ष प्राप्तीका लागि पंचधामका लागि मुक्तिनाथ लैजाने क्रममा हालको स्याङजा जिल्लाको डहरेको जंगलमा वास परेको र राती आमा बाबुलाई प्यास लागेकोले श्रवण कुमार पानी लिन तलाउमा गएर फर्कदा स्याउला बजेको आवाज सुनि त्यसै जंगलमा सिकार खेल्नको लागि क्याम्प बनाइ बसेका अयोध्याका राजा दशरथले जंगली जनावरको आवाज ठानी शव्द भेदी बाण प्रहार गर्दा उक्त वाण श्रवण कुमारलाई लागि उनि भुईमा लडेको र उनि लडेको आवाज सुनि राजा आफ्नो शिकार समात्न जादा आफ्नै भान्जा छटपटाई रहेको देखि बढो विस्मातका साथ अंगालोमा लिन लाग्दा श्रवण कुमारले आफ्नो वृतान्त सुनाई शिलामा परिणत भएको भन्ने पौराणिक कथा छ । तत् पश्चात राजा दशरथ पानी लिएर दिदी भिनाजु समक्ष गई सवै वृतान्त सुनाउदा तिम्रो पनि पुत्र वियोगको पिडाले मरण होस भनि श्राप दिएको भन्ने धार्मिक ग्रन्थ रामायणमा उल्लेख भएको छ । पुत्र वियोगको पिडाले अन्धाअन्धी रुदा–रुदो ताल बनेको र उक्त ताललाई अन्धाअन्धी दह भनिने गरेको छ । सोही तालबाट पानी वगी बनेको खोलालाई अन्धाअन्धी खोला भन्ने गरिएको र कालान्तरमा उक्त खोलाको नाम नै आधिखोला रहन गएको भन्ने भनाइ छ ।

जैविक विविधता

प्राकृतिक सुन्दरताले भरिपूर्ण यो क्षेत्र जैविक विविधतामा पनि धनी छ । उक्त ठाँउमा श्रवण कुमार मन्दिर बनाई धार्मिक एवं जैविक विविधताको पर्यटकीय क्षेत्र बनाइएको छ । घनाजंगल र चारैतिरका हरिया पाखा पखेरा र वस्तीहरुको विचमा सानो उपत्यकाको रुपमा रहेको श्रवणकुमार समाधि स्थल तथा मन्दिर र रमणीय ताल तथा आसपासका वस्तीहरु धार्मिक पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छन । यस क्षेत्रमा पाईने संसारमै दुर्लभ मानिएका विभिन्न प्रकारका वनस्पतिहरु, औषधीजन्य जडिबुटीहरु तथा विभिन्न जातका चराचरुङ्गीहरु सो विषयमा अध्ययन तथा अनुसन्धान गर्ने स्वदेशी एवं विदेशी अनुसन्धानकर्ताहरुको लागि महत्वपूर्ण स्रोतको रुपमा रहेका छन ।

पर्यटन प्रर्वद्धन

श्रवणकुमार समाधी स्थल, अन्धाअन्धी दह र आधीखोला क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र वनस्पतिजन्य बहुमूल्य जडिबुटीहरु लगायत समग्र जैबिक बिबिधताको सरक्षण, विकास एवं यथोचित उपयोग र पर्यटन प्रवर्दनका लागि आवश्यक थप पूर्वाधारहरुको बिकास गरी यस क्षेत्रमा पर्यापर्यटन, धार्मिक पर्यटन, ट्रेकिङ्ग, हाईकिङ्ग लगायतका पर्यटकीय गतिबिधीहरु संचालन गर्न सकेमा यस क्षेत्रको आर्थिक बिकासमा थप टेवा पुग्नुको अलावा समग्र राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रको महत्वपूर्ण योगदान पुग्ने विषयमा शंका छैन ।

पर्यटकिय सम्भावना

अन्धाअन्धी दह र श्रवणकुमार समाधि स्थल पवित्र धार्मिक स्थल मानिदै आएको छ । तिनीहरुको उचित संरक्षण गरि प्रचार प्रसार गर्न सके स्वदेशका अतिरिक्त भारतबाट पनि ठूलो संख्यामा धार्मिक पर्यटकहरु आउने वलिया संभावना छ ।

कसरी पुग्ने ?

श्रवणकुमार समाधि क्षेत्र र अन्धाअन्धी दह स्याङ्जा जिल्ला सदरमुकामबाट २८ किलो मीटर उत्तर पश्चिममा पर्छ ।

यो पनि पढ्नुहोस्
एसियाकै सबैभन्दा ठुलो तनहुँको प्रसिद्ध पर्यटकीय गन्तब्य सिद्ध गुफा  
तनहुँको पर्यटकीय गन्तब्य तनहुँ कालिका शहीद तथा शान्ति पार्क  
लमजुङको सुन्दर पर्यटकीय गन्तव्य काउलेपानी
पशु हत्या निषेध गरिएको गोरखाको सुन्दर पर्यटकीय गन्तव्य चुम भ्याली
चितवनको वाल्मीकिको साधनाभूमि र सीता आएर बसेको स्थल वाल्मीकि आश्रम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !