६ जेष्ठ २०८१, आइतबार

परम्परागत पहिरनमा रमाउँदै पर्यटक


Nepalpatra

८ माघ, पशुपतिनगर । चिया बगान घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक परम्परागत पहिरनमा रमाउने गरेका छन् ।

कन्यामका थुम्काथुम्कामा पुग्नका लागि घोडा चढ्ने गरेका पर्यटक परम्परागत पहिरन लगाएर चिया बगानमा तस्बीर खिचेर रमाउँछन् । घुम्न आउनेले विभिन्न जातजातिका पोशाक लगाउने गरेका छन् । पर्यटकको रोजाइमा परम्परागत पहिरन पर्न थालेको छ ।

“पहिरन लगाएर पर्यटकले आनन्द लिन्छन्,” व्यवसायी सानु तामाङले भन्नुभयो । राई, गुरुङ, लिम्बू, शेर्पा, तामाङ, मगर, सुनुवार, लोपोन्मुख लेप्चा जातिको पोशाक लगाएर पर्यटक रमाउने गरेका छन् । “पर्यटकले छानीछानी परम्परागत पहिरन लगाई फोटो खिच्ने गरेका छन्,” उहाँले भन्नुभयो ।

परम्परागत पहिरनमा पर्यटक आकर्षित हुन थालेपछि यहाँका व्यवसायीले मनग्य आम्दानी गर्न थालेका छन् । कन्याममा अहिले फोटो व्यवसायीको सङ्ख्या समेत बढ्दै गएको छ । “मासिक रु ३० हजारम्म आम्दानी हुन्छ,” एडीआर फोटो सुस्टुडियोका सञ्चालक राजेश गुरुङले भन्नुभयो ।

कन्याम आउने जो कोहीले पनि परम्परागत पहिरन लगाउने गरेको व्यवसायी बताउँछन् । आदिवासी जनजातिको पोशाक चिनाउन र पर्यटन प्रवद्र्धन गर्न ‘कल्चर ड्रेस’को महत्व बढ्दै गएको गुरुङ बताउनुहुन्छ । व्यवसायीले तस्बीर कैद गरेको रु १०० देखि रु २०० सम्म लिने गरेका छन् । प्रदेश नं १ ले पर्यटकीय नगरी घोषणा गरेको सूर्योदय नगरपालिकाको कन्याममा अहिले दैनिक २० हजारभन्दा बढी पर्यटक भ्रमणका लागि आउने गरेको तथ्याङ्क छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !