७ बैशाख २०८१, शुक्रबार

३४ वटा वायुयान ‘नाइट–स्टप’ पार्किङ काठमाडौँबाहिर जानुपर्ने


हेलिकोप्टर फाइल फोटो

काठमाडौँ । हेलिकप्टर तथा जहाज पार्किङका लागि ठाउँ अभाव भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले १४ वटा हेलिकप्टरलाई अबदेखि ‘नाइट-स्टप’ पार्किङका लागि काठमाडौँबाहिर अनिवार्य जानुपर्ने निर्णय गरेको छ ।

प्राधिकरणको आज बसेको बैठकले उक्त निर्णय गरेको हो । ‘नाइट-स्टप’ पार्किङका लागि विमानस्थलमा ठाउँ अभाव भएको भन्दै व्यावसायिक उडान गर्ने नौवटा वायुसेवाका ४८ मध्ये २० वटा जहाज पनि ‘नाइट-स्टप’ पार्किङका लागि बाहिर जानुपर्ने निर्णय गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार अनुमति लिएका हेलिकप्टर र वायुसेवाले आफ्ना जहाज मोफसलमा अनिवार्य राख्नुपर्ने निर्णयसमेत गरिएको छ । प्राधिकरणले गरेको सो निर्णय यही असार ७ गतेदेखि हेलिकप्टर र १३ गतेदेखि जहाजमा अनिवार्य कडाइका साथ लागू हुने नेपाल प्राधिकरण (क्यान)का महानिर्देशक ई प्रदीप अधिकारीले बताए ।

उनले भने, “नेपालको उड्डयन सुरक्षा अभिवृद्धि गर्ने नीतिअनुसार प्राधिकरणले ‘नाइट-स्टप’ पार्किङका लागि काठमाडौँबाहिर अनिवार्य जानुपर्ने निर्णय गरिएको छ । कडाइका साथ निर्णय लागू गरिनेछ ।”

प्राधिकरण मातहतको फ्लाइटअनुसार नेपालमा ३६ वटा हेलिकप्टर रहेको बताइएको छ । अबका दिनमा हेलिकप्टर र वायुसेवाले काठमाडौँ विमानस्थलमा तोकिएको सङ्ख्याभन्दा बढी जहाज पार्किङ गर्न पाउने छैनन् ।

सङ्घीयताको मर्मअनुसार प्रदेशको अर्थतन्त्र चलायमान बनाउन र प्रदेशका सर्वसाधारणले आफ्नो समयअनुसार केन्द्रीय राजधानीमा आउन यो समानताको निर्णयले अझ सहज हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले अपेक्षा लिएको छ ।

यसैगरी राज्यले भिभिआइपीको सूचीमा राखेका व्यक्तिले अबका दिनमा एकल पाइलटद्वारा सञ्चालन हुने हेलिकप्टर चार्टर उडानमा यात्रा गर्न नपाउने भएका छन् ।

नागरिक उड्डयन प्राधिकरणले आज भिभिआइपी हेलिकप्टर उडानमा अनिवार्य दुईजना पाइलट हुनुपर्ने निर्णय गरेको छ । राज्यले भिभिआइपी भनेका व्यक्तिहरुलाई एकल पाइलट भएको उडानबाट ओहोरदोहोर गराउन नपाइने भनेर निर्णय भएको र सोमबार सबै हेलिकप्टर कम्पनीलाई परिपत्र जारी गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई अधिकारीले जानकारी दिए ।

हाल नेपालमा १० वटा निजी हेलिकप्टर कम्पनी रहेका छन् । प्राधिकरणको आज बसेको सञ्चालक समितिको बैठकले अबदेखि अन्य सर्वसाधरणले गर्ने चार्टर उडानमा पनि दुइटा पाइलट अनिवार्य राख्नुपर्ने निर्णयसमेत गरेको छ ।

मौसमको अवस्था, पाइलटको स्वास्थ्य अवस्था, भौगोलिक अवस्था आदि स्थितिका आधारमा कतिपय उडानमा एउटा पाइलटले सर्वसाधारणका लागि चार्टर उडान भने गर्न पाउनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !