११ बैशाख २०८१, मंगलबार

कामीरिता शेर्पा २५ औं पटक पुगे सगरमाथाको चुचुरोमा


कामीरिता शेर्पा २५ औं पटक पुगे सगरमाथाको चुचुरोमा

काठमाडौं । विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पाले २५ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । उनी आज शुक्रबार सगरमाथाको चुचुरोमा पुगेका हुन् । उनी डोरी टाँग्दै साँझ ६ बजे सगरमाथाको चुचुरोमा पुगेको आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक प्रालिले जानकारी दिएको छ ।

सगरमाथा आरोहणका लागि बाटो बनाउन डोरी टाँग्ने टोलीको नेतृत्व शेर्पाले गरेका थिए । उनीसहित १२ जना पनि सगरमाथाको चुचुरोमा पुगेका छन् । कम्पनीका अनुसार कामीरिता सहितको टोलीमा ६ जना संखुवासभाका र ६ जना सोलुखुम्बुका शेर्पा आरोही छन् । उनीहरु ३ दिनअघि मंगलबार आधार शिविरबाट हिँडेका थिए ।

उनले सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेयता उनी शुक्रबार २५ औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन् । शेर्पाको टोलीले सगरमाथाको चुचुरोमा टेकेसँगै वसन्त यामको आरोहणको ढोका खुलेको छ ।

अब मौसम अनुकुल रहेमा आरोहीहरू सगरमाथा आरोहणका लागि प्रयास गर्नेछन् । यस सिजनमा सगरमाथा आरोहणका लागि मात्रै पर्यटन विभागले ४४ वटा आरोहण दललाई अनुमति दिएमा ९२ जना महिला र ३१५ जना पुरुष छन् । यस वर्ष सगरमाथा आरोहणका लागि ४०७ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !